Shittalpati
जेन–जी विद्रोह र परिवर्तन

पदम न्यौपाने
स्विकार्नुपर्छ हालै भएको विद्रोह युवाहरूबिच देखिएको परिवर्तनको भावना हो । यसलाई “विद्रोह” किन भनिएको हो भने यो पुस्ताले पुरानो सोच, राजनीतिक संस्कृति, सामाजिक अन्याय र संस्थागत बेथितिको विरोधमा आफ्नो स्वर बुलन्द गरेका र चासो राख्न थालेका कारण हो । यो कुनै सत्तामा पुग्न सरकार बदल्न, कुनै दललाई सत्तामा बसाउन वा कुनै अमूक व्यक्तिका पक्षमा गरिएको थिएन । यसर्थ यस विद्रोहमा कुनै नेता थिएनन् सामुहिक भावना थियो । यो पहल जेनजी समूहमा पर्ने पुस्ताले समस्त नागरिक (अन्य पुस्ता) को वर्तमान राजनीति र विभिन्न दलहरुको दलीय सत्ता र सरकारी सत्ताले देखाएको अराजनीतिक व्यवहारले दिक्क बनाएको दम्भ र घमण्डले हिडाएको गलत बाटो, झाँगिदै गएको कुसंस्कारी प्रवृति र व्यवहारले बढाएको चिन्ता र असहमतिलाई प्रतिनिधित्व गरेर प्रदर्शन गरेको आंट एवं हिम्मत थियो । तर यो हिम्मतलाई स्विकार गर्न दल र दलीय आवद्धतामा रहेका अधिकांशले सकिरहेका छैनन् । यो गलत संकेत हो, यसले भविष्यमा यसै हुन्छ भन्ने आंकलन गर्न सकिने अवस्था छैन् ।

जेन–जी विद्रोहको पृष्ठभूमिलाई बुझ्न यसरी हेर्न सकिन्छ । यो डिजिटल पुस्ता हो । यो पुस्ता इन्टरनेट, मोबाइल र सामाजिक सञ्जालको पुस्ता हो । यो पुस्तालाई राजनीतिक चरित्रप्रति असन्तोष छ । निरन्तर दलहरूको असफलता, बढ्दो बेरोजगारी, अव्यवहारिक शिक्षा र अवसरको अभावले असन्तोष बढाएको छ । यसले यो पुस्तामा सामाजिक चेतनाले स्थान पाउन थालेको हो । यो पुस्तालाई लैङ्गिक समानता, पर्यावरणीय चासो, पारदर्शिता र स्वतन्त्रताको पक्षमा खुला अभिव्यक्ति आवश्यक मानिन्छ । राजनीतिप्रति चासो नराख्ने पुस्ताले राजनीति र सरकारी तन्त्रमा देखिदै आएका अभ्यासहरुबाट दिक्क भएर भन्न थालेका थिए “हामीलाई मौका देऊ” जस्ता अभियानहरू डिजिटल प्लेटफर्महरुमा सञ्चालन गर्दै आएको समय लामो भइसकेको थियो ।

यो पुस्ताले अपेक्षा गरेको पारदर्शी, जिम्मेवार र परिणाममुखी नेतृत्व, विज्ञान, प्रविधि, नव–उद्यम र हरित अर्थतन्त्रमा ध्यान केन्द्रित, लैङ्गिक समानता, विविधता र सामाजिक सहिष्णुता, भ्रष्टाचारमुक्त शासन र अवसरको समान वितरण नै हुन् । तर सत्ताको उन्मादमा रहेका दल र सरकार यो बुझ्न आवश्यक नै ठानेन् । परिणाम मुलक भर युवाहरुको आवाज विष्फोट भयो । विद्रोहमा उत्रिए तर सरकार यसको व्यवस्थापनमा लाग्नुको बदला सत्तालाई र राष्ट्रलाई अन्योल वा राज्य विहनिताको अवस्था सिर्जना गरी हिड्यो ।

नेपालको जेनजी विद्रोह कुनै हिंसात्मक आन्दोलनका लागि थिएन । बरु मानसिक र सामाजिक परिवर्तनको आन्दोलन थियो । तर यो पुस्ताको भावना बुझ्न नसकी सरकारविहिनताको अवस्थालाई उपयोग गर्दै केही स्वार्थी समूहको प्रवेशले हिसांत्मक अवस्थामा पुर्‍यायो र मुलुकमा ठूलो क्षती हुन पुग्यो । यसबाट सिर्जित अवस्थाको पुनः उपयोग गर्दै ज्ञात अज्ञात समूहहरु मुलुकलाई पुन अस्थिरतातर्फ घचट्ने प्रयत्नहरु गरिन थालेका छन् । यस्तो अवस्थामा पनि आफूलाई जिम्मेवार ठान्ने राजनीतिक दलहरु पनि खुलेर यो परिवर्तनका लागि खुलेको ढोकाबाट प्रवेश गरी नागरिक सरकारसँग सहकार्यगरी आगामी निर्वाचनलाई सफल पारी परिवर्तनका लागि सिर्जित अवसरको उपयोगतर्फ लाग्न तत्परता देखाउन नसकेको अवस्था छ ।  हालसम्मको पृष्ठभूमिलाई गहन विश्लेषण गरी जेन–जी पुस्ताले विभिन्न रणनीति अवलम्वन गरी विद्रोहको भावनालाई कमजोर बन्न नदिनेतर्फ लाग्न जरुरी देखिन्छ ।

अब प्रश्न उठ्छ यस्तो अवस्थामा जेन–जी पुस्ता र अगाडि देखिएका प्रतिनिधिहरुले के गर्नुपर्ने हो जसबाट पुस्तामाथी विश्वास बढोस्, यो पुस्ताले उठाएका मुद्धाहरुमाथी आमनागरिकको चासो, सहकार्य र समर्थन बढ्दै जाओस् अनि समाजले पनि आफ्नो मुद्धा बनाई जागरण ल्याउन सकोस् ।

पुस्ताको एकता र एक मत रहेको सन्देश दिने माध्यम निर्माणका लागि नियमिति रुपमा भेटघाट, सामाजिक समस्यामाथी छलफल र प्रभावकारिताका विषयमा छलफल गर्ने कार्य पहिलो पहल हुन सक्छ । यसबाट सामाजिक समस्या र आफ्ना मुद्धाहरुबारे नागरिकलाई सचेत बनाउनका लागि पुस्ताले नै आफ्नो आचरण र व्यवहारलाई कसरी विश्वासिलो बनाउने भन्ने विषयमा बलियो बनाउनेछ । हरेक नागरिक र पारिवारिक सदस्यहरुबिच स्वस्थ र रुपान्तरका बारेमा छलफल बढाउन जरुरी छ । व्यक्तिगत टिका टिप्पणीमा भन्दा मुद्धामा केन्द्रित हुन सकेमा पुस्ता माथि हेर्ने दृष्टिकोणमै परिवर्तन आउने छ ।  यो जेन–जी पुस्ताको ठूलो पूँजि बन्नेछ । यसले आफ्नो पालिका र देशलाई नै नयाँ दिशा दिन सक्छ, । यसर्थ यो ऊर्जा र असन्तोषलाई रचनात्मक सुधारतर्फ लगाउन मद्धत पुग्नेछ ।

जेन–जी पुस्ताबाट देशले धेरै अपेक्षा गरेको छ । उनीहरूबाट पारदर्शी, जिम्मेवार र परिणाममुखी नेतृत्वको आशा गरिएको छ । प्रविधि, नवाचार, विज्ञान र हरित अर्थतन्त्रप्रति उनीहरूको आकर्षणले देशको आर्थिक दिशा परिवर्तन गर्न सक्छ । लैङ्गिक समानता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सहिष्णुतामा पनि उनीहरू प्रगतिशील देखिएका कारण यस्तो प्रभाव देखिने विश्वास गरिन्छ ।

पुस्ताका प्रतिनिधिहरुको आचरण व्यवहार र संस्कारले पुस्तालाई विभाजन गरी विद्रोहलाई कमजोर बनाउन गरिने हरेक षड्यन्त्र र पहलहरु निस्तेज बनेर जाने छन् । यदी यसबारे ख्याल गरिएन भने यो विद्रोहसँग केही चुनौतीहरू पनि छन् जुन झनै बढेर जाने देखिन्छ । पुस्ताबारे सामाजिक सञ्जालमा भ्रम फैलिने सम्भावना छ । अल्पकालीन सोच राखियो भने र पुराना पुस्तासँग संवादको कमी भयो भने आन्दोलनको प्रभावको स्थायित्वमा असर पार्न सक्छ ।

समग्रमा हेर्दा, नेपालमा जेन जी विद्रोहले नयाँ युगको सुरुवात गरेको छ । जसले पुरानो संरचनालाई चुनौती दिंदै सुधार र पारदर्शिताको बाटो खोल्ने संकेत दिएको छ । यदि यो ऊर्जा र असन्तोषलाई रचनात्मक रूपमा उपयोग गर्न सकियो भने, यही पुस्ता नेपालको भविष्यको मार्गदर्शक बन्न सक्छ ।

अब जेनजी पुस्ता र प्रतिनिधिहरुले कस्ता प्रक्रिया अवलम्वन गर्न जरुरी देखिन्छ भन्ने बारे सरसर्ती हेरौं ।

पहिलो भनेको आफैसँग सम्वद्ध पहलहरु बारे ज्ञान हुन जरुरी छ । आत्मचेतना र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । आफ्नो भावना, सोच र दवाबलाई बुझ्ने क्षमता विकास गर्नु आवश्यक छ । ध्यान  (meditation), लेखन, वा प्रकृतिसँग समय बिताउने जस्ता अभ्यासले मानसिक सन्तुलन राख्न मद्दत गर्छ । यसर्थ “æProductivity” भन्दा “Peace of mind” लाई पनि समान महत्व दिनु आवश्यक छ ।

दोश्रो पहलमा सामाजिक सचेतना र जिम्मेवारीलाई आत्मसाथ गर्न आवश्यक छ । यसमा सामाजिक मुद्दा (environment, equality, ethic) प्रति जागरूक रहन समाजलाई जानकारी गराउदै जानु पर्दछ । सामाजिक मिडियामा “trend” पछ्याउनु भन्दा “trend” पहिचान गर्दै जिज्ञासा राख्ने क्षमता विकास गर्नु पर्दछ । आफ्ना नजिकका सामाजिक र सामुदायिक संस्था र वडा स्तरबाटै आफ्ना मुद्धा बारे समुदायमा जिज्ञासा राख्ने पहल प्रारम्भ गर्न आवश्यक छ । त्यहाँ गरिने क्रियाकलापको प्रभावकारिता , पारदर्शिता, जवाफदेहीता र सेवा प्रवाहको अवस्था, प्रदर्शन गरिने व्यवहारमा सुधार ल्याउने बारे अभियानकै रुपमा प्रारम्भ जरुरी छ ।

वडा कार्यालय र पालिका कार्यालयका कर्मचारीको सेवा प्रवाहको अवस्था र सेवाग्राहीलाई गरिने व्यवहारमा सुधार ल्याउन मात्र पहल गरियो भने यसबाट वास्तविक रुपान्तरणको सुवात हुने छ । वडा कार्यालयले गरेका विविध क्रियाकलाप र सो अवसरमा अवलम्वन गरिएका पारदर्शिता, प्रभावकारिता, मर्मत सम्हार र उपयोगको अवस्था बारेमा छलफल प्रारम्भ भयो भने विकास र सुधारमा निकै प्रभावकारिता देखिने हुन्छ । वडा तहबट प्रवाह गरिने सेवामा चुस्तता र सेवा प्रवाहकर्ताको क्षमतामा सुधार ल्याउन जरुरी भएको अवस्थामा यस किसिमको पहलको महत्व र प्रभाव निकै उपयोगी देखिन्छ । अहिलेको आवश्यकता पनि यही हो । वडा तहमा रहेका सार्वजीनक सम्पति, सम्पदाको उपयोग, संरक्षण र अनधिकृत कब्जा गरिएका सम्पतिको बारेमा छलफल अगाडि बढाउन जरुरी छ ।

पालिका स्तरमा गरिने छलफलमा पालिका र नेतृत्व तहले पालिकाको विकास, सम्पतिको संरक्षण, उपयोग, वितरण, श्रोतको परिचालन, विनियोजन र प्राथमिकता जस्ता विषयमा यो पुस्ताले चासो राख्नु पर्ने देखिन्छ किन की भोली आफैले सम्हाल्नु पर्ने अवस्थामा क्षतविक्षत अवस्थामा पुग्न नदिन यो पहलको आवश्यकता हो । यो स्तरमा राखिने चासोमा भविष्यका बारे चिन्ता प्रदर्शन हुनु आवश्यक छ । अहिलेको अवस्था भनेको विना सोच, अवधारणा र लक्ष्य बेगर गरिएका क्रियाकलापबाट सुन्दर भविष्यको अपेक्षा गर्न सकिदैन तर जेनजी पुस्ताको मुख्य सरोकार पनि सुन्दर भविष्यको चाहाना नै हो । 

टेक्नोलोजी प्रयोगमा सन्तुलन राख्नुहोस्—उपकरण होइन, तपाईंले नियन्त्रण गर्नुपर्छ । सुसाशन, पारदर्शीता, जवाफदेहीता सहितको शुन्य भ्रष्टाचारयुक्त समाज निर्माणका लागि आवश्यक पद्धतीको विकास नै हो । यसका लागि प्रविधिको प्रयोग र रणनीतिको अवस्था आफ्नो पालिकामा अवस्था, प्राथमिकता र पहलका सन्दर्भमा विशेषगरी प्राथमिकता दिनु पर्ने विषय हो । यसको सुधारले नै नतिजा वा डेलीभरीमा प्रभावकारिता देखिने हो ।

अर्को जिज्ञासा उब्जन सक्छ त्यो के भने के सम्वद्ध निकाय (सरकारी वा निजि क्षेत्रका संघ संस्था) हरुमा जिज्ञासा राख्दैमा सबै हासिल हुन्छ त ! हो यसका लागि असल, सकारात्मक सम्बन्ध र सहकार्यमा विश्वास विश्वास दिलाउने कार्यहरुमा सहभागिता जनाउन जरुरी रहन्छ । त्यसैगरी विभिन्न विचार भएका व्यक्तिसँग संवाद गर्न खुला मनले प्रस्तुत हुन आवश्यक छ । Networking, collaboration र empathy  जस्ता मूल्यहरूलाई प्राथमिकता दिन जरुरी छ । अहिले यो पुस्ताले प्रतिस्पर्धा भन्दा सहकार्यबाट ठूलो उपलब्धि सम्भव हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्न जरुरी छ । जीवनमा “के कमाउने” भन्दा पहिले “किन र कसरी योगदान गर्ने” भन्ने बारेमा ध्यान दिदा पुस्ता प्रति थप विश्वास बढेर जाने देखिन्छ ।  हरेक पहलहरुलाई सानो तर अर्थपूर्ण कामले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने मान्यता र उदारण स्थापित गराउन सक्नु पर्दछ ।

यसर्थ जेनजी पुस्ताले हरेक क्षेत्रमा राख्ने चासो पूर्व सूचना लिएर आधिकारीक सूचनासहित राख्न सकियो भने समाज रुपान्तरणमा सहयोगी बन्नेछ । पुस्ताले गर्ने व्यवहारले समाजमा सकारात्मक प्रभाव पार्ने छ । यो विद्रोहको भावनात्मक पक्ष पनि समाज रुपान्तरण सहित राजनीतिक र प्रशासनिक क्षेत्रमा परिवर्तन ल्याउने नै हो ।  (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update