
फलामजन्य औजारहरुको पूजाआज गरी बुधबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।
यस दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो, यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरेमा राम्रो हुने विश्वास छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन प्रायः कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । तर तीनै धातुजन्य वस्तुका काम गर्ने विश्वकर्मा र शिल्पी समुदायको सम्मान अहिलेसम्म हुन सकेको छैन । उनीहरुले नै बनाएको सामान र वस्तुलाई पूजा गर्ने तर त्यही बनाउने व्यक्तिहरुलाई विभेद गरिंदा नेपालको यो संस्कार र संस्कृति विरोधाभाषपूर्ण देखिन्छ । यसले सामाजिक विकासमा ठूलो समस्या सिर्जना गरेको छ । कामको आधारमा गरिएको विभाजन पछि जातीय र विभेदको आधार बनेको सबैले स्वीकार गरेको विषय हो । छुवाछुत हटाउनुपर्छ भन्ने चर्को नारा लाग्न थालेको धेरै वर्ष पनि बितिसक्यो । त्यति मात्र होइन, नेपालमा कानुनी रुपमा रुपमा जातीय छुवाछुतको अन्त्य भएको पनि धेरै भैसकेको छ । तर त्यो अहिलेसम्म व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । हिन्दु धर्मग्रन्थहरुमा विश्वकर्मालाई भगवान मानेको छ । विश्वकर्माको स्थान ती ग्रन्थहरुमा उच्च कोटिको छ । तर त्यही हिन्दु धर्मको बाहुल्यता रहेको नेपाली समाजमा जीवित विश्वकर्माहरुमाथि विभेद हुने गरेको छ । यो अत्यन्तै दुःखको कुरा हो । भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास समेत छ । त्यसैले यस दिन सबैले आ–आफ्ना हतियार, औजार, साधनहरू वर्षभरि प्रभावकारी रूपबाट प्रयोग भएकोमा धन्यवाद र आगामी दिनमा अझ प्रभावकारी रूपबाट प्रयोग गर्न सकूँन् भन्ने मनोकामनासहित विभिन्न किसिमबाट कल कारखाना, सवारी साधन, विमान, विद्युतीय उपकरणहरू समेत पूजा गर्ने प्रचलन छ । यो प्रचलन आफैमा महत्वपूर्ण रहेको छ ।