Shittalpati
मुलुकलाई सहज निकास देऊ

जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रतिले यति बेला आमनागरिकलाई चिन्तित बनाएको छ । प्रदर्शनका क्रममा ३४ जना भन्दा बढीको ज्यान गइसकेको छ धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् । प्रधानमन्त्रीको राजीनामा, सार्वजनिक सम्पत्ति तथा निजी सम्पत्तिको ठूलो मात्रामा तोडफोड तथा आगजनीले देशमा जटिल अवस्थाको निर्माण हुन पुगेको छ । यस्तो अवस्थामा सम्पूर्ण देशवासी सयमित, गम्भीर र संवेदनशील भएर सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्यमा सक्रिय हुनुको साथै यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु आवश्यक छ । जेनजीको मागलाई सरकारले उपेक्षा गर्दै हिंसात्मकरुपमा दमन गर्दाको परिणाम अहिले देखिएको हो । यो अत्यन्त दुखद् छ ।

जेनजी पुस्ताका मागहरु माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो । देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दवाउन गरिएको सरकारी दमन निन्दनीय छ । संक्रमणकाललाई लम्बाइ राख्ने तथा कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले अझै क्षति व्यहोर्नुपर्ने हुन सक्ने व्यवस्थातर्फ सबै गम्भीर बन्नुपर्दछ । लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास दिई, लोकतन्त्रको अभ्यासलाई सुनिश्चित गराउने कुरामा सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ । वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्दछ । यसका लागि राष्ट्रपतिले तत्काल वार्ताको वातावरण सिर्जना गर्नुपर्छ । युवाहरूलाई निराश बनाउने, उनीहरूको भविष्यप्रति खेलबाड गर्ने परिपाटीले मुलुकलाई बारम्बार संकटतिर धकेलेको छ । अहिले पनि अवस्था त्यही हो । तर यो संकटलाई अवसरमा बदल्ने बेला आएको छ । त्यसैले जेनजीका माग सम्बोधन गर्ने गरी छिटो भन्दा छिटो मुलुकलाई निकास दिने कुरामा सबै पक्ष लाग्न जरुरी छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update