Shittalpati
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देश चलाउन अब वैधानिक उपाय खोजिनुपर्ने बताएका छन । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावना बमोजिम नै संविधान अनुसार वैधानिक बाटोबाट नै अगाडि बढिनुपर्ने बताएका हुन ।

‘विधि विहीनताले थप अराजकता निम्त्याउँछ, त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यु र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैड्ढानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरुले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता  समेत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई महामन्त्रीले स्वीकारेका छन् ।

बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको जारी अपिलमा उल्लेख छ । सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्माआलोचना दुई महामन्त्रीले गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गर्दा स्थिति थप चर्किएको समेत बताए । ‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक–पटकको आग्रहका बावजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update