
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पूर्खालाई तिथी मिलाएर तर्पण, पिण्डदान र ब्राÞमण भोजन गराउने गर्छन् । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण गरी श्राद्ध गरिने परम्परा रहेको छ । एकतिष्ट, पार्वानी, महालयलगायत श्राद्ध प्रचलनमा छ । सोह्रश्राद्धलाई महालय पनि भनिन्छ । श्राद्ध भनेको दिवंगत आत्मालाई श्रद्धार्पण गर्ने काम हो । सोह्रश्राद्धको वैदिक संस्कृतिमा विशेष महत्व छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारिक रुपमा शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ ।
सूर्य कन्या राशीमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशीमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ । गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वास–प्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हँुदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथिमा लिइनु राम्रो मानिन्छ । सुतक, जुठो वा असर्धो समय परे एकादशी या औंंसीमा गरिनुपर्छ । रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औंसीमा गर्न पनि सकिन्छ । जुन पिता माताबाट हामीलाई यो शरीर मिल्यो, लालन पालन भयो मरेपछि उनीहरूका लागि कुनै विशेष सत्कार गर्न सकेनौं भने त्योभन्दा ठूलो कृतघ्नता अरू केही हुन सक्दैन । मातापिताको ऋण सय वर्ष भोग्न सयौं जन्मसम्म पनि तिर्न सकिँदैन । यसर्थ उनीहरूको नाममा दान गर्दा पितृहरुको आत्मा तृप्त हुने मान्यता रहेको छ । श्राद्धकर्ममा श्रद्धाभाव अनिवार्य छ । मन, वचन, पदार्थ, मन्त्रोच्चारण, ब्राह्मण सबैको पवित्रता र शुद्धता अनिवार्य हुन्छ । तर्पण, पिण्डदान र ब्राह्मण भोजन यस कार्यका प्रमुख अङ्ग हुन् । श्रद्धापूर्वक यस कर्मको अनुष्ठान गर्ने मनुष्यलाई पितृहरूले कल्याण गर्ने र पितृहरूप्रति उपेक्षाभाव राखी श्राद्धकर्मद्वारा पितृऋण नतिर्ने मनुष्यलाई प्रेतात्मा तथा पितृहरूले नष्ट गर्ने भएकाले आ–आफ्ना शास्त्रीय पद्धति अनुसार सबैले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने देखिन्छ ।