Shittalpati
निजामती सेवा दिवसको सान्दर्भिकता

निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो । निजामती सेवा दिवस निजामती राष्ट्रसेवक, सार्वजनिक सेवाका सेवाग्राही र आम सरोकारवालाका लागि आफैंमा महत्व राख्ने दिन हो । मुलुकी प्रशासनको मियोका रूपमा रहेको निजामती सेवा सरकारको अपरिहार्य कार्यकारी अङ्ग हो । निजामती सेवाले राज्यका अन्य सेवाहरूको तुलनामा महत्वपूर्ण भूमिका र कार्य–जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । सार्वजनिक नीति तर्जुमामा सरकारका सबै तहमा राजनीतिक नेतृत्वलाई विशेषज्ञयुक्त सहयोग पुर्‍याउँदै राज्यका नीति कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवाप्रवाह गर्ने मूल अभिष्टले गठित योे सेवामा व्यवसायिक कर्मचारीहरू आबद्ध छन् । राज्य र जनताबीच हुने सामाजिक सम्झौताको कार्यन्वयनकर्ताका रूपमा कर्मचारी रहने हुँदा यसले ठूलो जिम्मेवारी प्राप्त गरेको हुन्छ । यी जिम्मेवारीहरू गुणस्तरीय प्रकारले सम्पादन भएकोमा गौरवान्वित हुने अवसर हो, त्यसैले यस दिवसमा वर्षभरि सम्पादन गरिएका उदाहरणीय कार्यहरूको स्मरण मात्र गरिँदैन, त्यस्ता उल्लेखनीय कार्यसम्पादनकर्तालाई सम्मान गरी आगामी वर्षका लागि अधिक कुशलतापूर्वक कर्मक्षेत्रमा प्रवेश गरी नतिजामा पुग्ने तरिकाहरूको खोजी यसै दिवसमा गरिनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन ।

नेपालमा निजामती सेवा दिवस जुन उद्देश्य लिएर मनाउन प्रारम्भ गरिएको हो, सो प्राप्त हुन नसकी औपचारिकता पूरा गर्नमा मात्र सीमित हुँदै गएको अवस्था छ । त्यसैले, यस दिवसलाई मनाउने समग्र प्रारूपमा नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । अझ पछिल्लो समय कर्मचारीसँग जनताको असन्तुष्टि पाइन्छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारे पनि कर्मचारीतन्त्रको वेवास्ताका कारण साकार हुन सकेको छैन । यसका लागि नेतृत्व तहमा रहने र कार्यान्वयन तहमा रहने सबैले सामूहिक संकल्प गर्दै सेवाप्रवाहमा इमान्दारिता साथ अग्रसर हुन आवश्यक छ । यसो भयो भने मात्र हरेक वर्ष मनाइने निजामती सेवा दिवसले सार्थकता प्राप्त गर्दछ । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update