Shittalpati
मानव बेचबिखन विरुद्ध दिवसको सन्दर्भ

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ सालदेखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।  दिवसमा विशेष गरी बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम हुने गर्दछन्, तर यी कार्यक्रमहरु त्यत्ति प्रभावकारी हुन सकिरहेका छैन । मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ । यस्तो शोषण गर्ने कार्य अझै पनि रोकिएको छैन । वैदेशिक रोजगारीको आडमा मानव बेचबिखनको धन्दा अहिले पनि उत्तिकै फस्टाइरहेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ तर, श्रम स्वीकृति विना धेरै मानिसहरु अहिले पनि बेचबिखनको फन्दामा परेर खाडी लगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् । वैदेशिक रोजगारीका नाममा महिलालाई विभिन्न मुलुकमा तस्करी गर्ने संयन्त्र गाउँसम्मै फैलिएको छ । हिजो गाउँका सोझा, अशिक्षित र आर्थिक स्थिति कमजोर भएका महिलालाई झुक्याएर कोठीहरूमा लगेर बेचिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा झुक्याएर मानव बेचबिखनको काम भइरहेको छ । दलालहरूले विभिन्न प्रलोभनमा पारेर कुवेत, ओमन, यूएई, कतार, साउदी अरेबिया जस्ता देशहरूमा घरेलु कामदारमा पठाइरहेका छन् । तस्कर, दलालहरू वैदेशिक रोजगारको आवरणमा खुल्लमखुला भारतको बाटोहुँदै खाडी मुलुकहरूमा बेचबिखन गर्ने काममा सक्रिय छन्, तर यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन् । यस्ता गलत काम गर्नेहरुलाई कारवाहीको दायरामा नल्याएसम्म मानव बेचबिखन रोकिदैन र मानव बेचबिखन विरुद्ध दिवसको सार्थकता रहँदैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update