Shittalpati
डेंगी रोक्न सतर्कता

यति बेला देशका सबै जसो जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ।

ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिराहरू देखिने, वाक्वाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, पेट दुख्ने, ढाड जोर्नी था मांसपेसीहरू दुख्ने भयो भने सोचे हुन्छ–डेंगी संक्रमण भयो । कुनै मानिसमा यीमध्ये कुनै एक वा बढी समस्या उत्पन्न भएमा उसको स्वास्थ्य स्थिति अवश्य पनि पीडायुक्त हुन्छ । त्यसैले यस्तो संक्रमणबाट बच्न लामखुट्टेको टोकाइ छल्नु नै सबै भन्दा उत्तम उपाय हुने स्वास्थ्यविद्हरूको सुझाव छ । डेंगी नेपालका सन्दर्भमा नयाँ समस्या हुँदै होइन । यो प्रत्येक वर्षजसो आइरहन्छ । तर पनि यो समस्या समाधानका लागि जुनखालको समाधान नीति अपनाउनु पथ्र्यो, त्यसमा भने हामी चुकिरहेकै हो । त्यसैले प्रत्येक वर्ष यो समस्या आउँदा संक्रमितको रेकर्ड राख्ने, जनचेतनाका नाममा केही प्रचारप्रसारका कार्य गर्ने र आफ्नो दायित्व पूरा भएको सम्झने प्रवृत्ति कायमै छ । जसले गर्दा समस्या कम हुँदै जानुपर्नेमा उल्टै बढ्दै गएको छ । यो अत्यन्त दुखद हो । अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ । जसले गर्दा अझै थप सतर्क हुनुपर्ने अवस्था छ । सार्वजनिक स्थलमा बनेका खाल्डाखुल्डी, फालिएका ड्रम, टायर, बोतल र टुटेका भाँडाकुँडामा पानी जम्दा लामखुट्टे बढ्न सक्ने सम्भावना हुन्छ । घरआँगनका गमला, बोतल, ढकनी र वैकल्पिक रूपमा राखिएको पानीसमेत प्रजननस्थल बन्न सक्छ । सफा पानी मात्र पाउँदा पनि यसले फुल पार्छ र आफ्नो संख्या बढाउँछ । डेंगी रोकथाम र नियन्त्रण गर्न व्यक्तिगत सतर्कता अत्यावश्यक हुन्छ ।

झ्यालढोकामा जाली लगाउने, साँझ–बिहान बाहुला भएको लुगा लगाउने र गुणस्तरीय मलम प्रयोग गर्ने उपाय तत्काल अपनाउनुपर्छ । यस्ता उपायले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग गर्छ । तर, सबैभन्दा प्रभावकारी रणनीति भनेको यसको वृद्धि चक्रलाई रोक्नु हो । त्यसका लागि घरआँगन सफा राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी हटाउन, घोप्ट्याउन वा लामखुट्टे मार्ने औषधि छर्कनु आवश्यक छ । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम व्यक्ति आफै जिम्मेवार र सर्तक हुन  जरुरी छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update