
युवा विदेश पलायन नेपालका लागि चुनौतिको विषय बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने हजारौं युवाहरूको भिडले राजनीतिक दल र सरकारको मनमस्तिष्क छुन सकेको छैन् । सत्ता र शक्तिको दौडमा लागिपरेका नेतृत्व वर्गले मुलुकको राजनीति र सरकारलाई अस्थिर बनाउँदा त्यसको प्रत्यक्ष असर युवा वर्गमा परेको छ । सत्ता बाहिर हुँदा युवा पलायन रोक्ने सबैको भाषण जनतालाई कण्ठै छ । तर व्यवहारमा उल्टो भइरहेको छ । युवालाई पलायन गराउने, बेरोजगार बनाउने र डिप्रेसनमा पु¥याउने मुख्य तत्व नै निकम्मा सरकार र शासन प्रणाली हो । नेतृत्वको गैरजिम्मेवारपन र सरकार परिवर्तनको शृंखलाले नै आम युवामा नैराश्यता छाएको छ । सरकार परिवर्तनपछि हुने नीति तथा कार्यक्रमहरूको हेरफेरले रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दछ । नीतिगत अस्थिरताको कारण लगानीको उपर्युक्त वातावरण बन्न सकेको छैन । नयाँ उद्योगहरू स्थापना हुन सकेका छैनन् भने भएका उद्योगहरूसमेत थला परेका अवस्थामा छन् । वैदेशिक लगानी भित्रिने क्रम घट्दो छ । औद्योगिक विकासमा सुस्त छ । रोजगारीको अवसर सिर्जना गर्न नयाँ उद्योगले महत्वपूर्ण भूमिका खेल्दछ तर उद्योग सञ्चालनलाई प्रोत्साहित गर्ने वातावरण छैन । फलस्वरूप युवाहरू बेरोजगार बन्न बाध्य छन् ।
आफ्नै देशमा पर्याप्त रोजगारीको व्यवस्था हुन्थ्यो भने आफ्नो घर, परिवार, देश छाडेर पसिना बगाउन बिदेसिनुपर्ने पक्कै थिएन । नेपालमा मौलाउँदै गएको अस्थिर राजनीति, पटक–पटक भइरहने सरकार परिवर्तन, युवाकै नेतृत्व स्थापित हुँदासमेत राजनीतीकरण हुनु, उच्चशिक्षा हासिलपछि पनि रोजगारीको ग्यारेन्टी नहुनु र गुणस्तरीय शिक्षाकै लागि समेत बिदेसिनुपर्ने बाध्यता छ । स्वदेशमै रोजगारीको वातावरण, उद्यमशीलता र कामअनुसारको दामको व्यवस्था हुन्थ्यो भने राज्यको मेरुदण्ड र विकासका संवाहक युवालाई राज्यले गुमाउनुपर्दैनथ्यो । यसर्थ अब बन्द रहेका ठूला उद्योग कलकारखाना खुलाउनुको साथै स्थानीयस्तरदेखि नै सानादेखि ठूला उद्योग सञ्चालनमा ल्याई रोजगारी सिर्जना गरी युवा पलायनलाई स्वदेशमै रोक्ने दिशामा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।