
पछिल्लो समय राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यम जता हेरे पनि राजनीतिक दलप्रति ठूलो वितृष्णा देखिन्छ । यसले उनीहरूको विकल्प खोजिएको जस्तो आभास हुन्छ । जनता क्रमशः नयाँ दल तथा शक्तितर्फ आकर्षित हुँदै गरेको बुझाई पाइन्छ । यो असत्य पनि होइन, तर यो पूर्ण सत्य पनि होइन । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले राज्य सञ्चालन गर्ने भएकाले दलहरूबारे सार्वजिनक बहस र आलोचना हुनु अस्वाभाविक होइन । नेपालका सन्दर्भमा सरकार, सरकार प्रमुख, राजनीतिक दल र दलको नेतृत्व पंक्ति सबैभन्दा विवादित छन् । अझ, पछिल्लो समय त झन् अत्याधिक मूल्यवृद्धिका कारण सर्वसाधारण जनता मारमा परिरहे पनि त्यसको नियन्त्रण तथा रोकथाममा सरकार र राजनीतिक नेतृत्वले ध्यान दिन सकिरहेका छैन । जनता विभिन्न खाले समस्याबाट पीडित हुँदै गर्दा जनताका समस्याप्रति पूर्ण रूपमा उदासीन हुँदा सरकार र राजनीतिक दलप्रति वितृष्ण पैदा भएको छ ।
राजनीतिक दलहरूमा आपूmले जे गरे पनि हुने सर्वसत्तावादी सोंच हाबी भइरहेको छ । सत्तामा जानुभन्दा अघि लोकतन्त्र, संविधानवाद र विधिको शासनको चर्को वकालत गर्नेहरू जब सत्तामा जान्छन्, त्यसपछि उनीहरूबाटै लोकतन्त्र, संविधानवाद र विधिको शासनको खिल्ली उडाउने काम गरिन्छ । अहिले त्यस्तै अवस्था देखिएको छ । राजनीतिक स्थायित्व, सुशासन र जनताको जीवनस्तरमा सुधार ल्याउनु आजको आवश्यकता हो । तर, देशका मुख्य राजनीतिक दलहरू अझै पनि आपसी शक्ति संघर्ष, पद–प्राप्ति र प्रतिशोधको राजनीतिमा अल्झिएका छन् । यसले अनेकन् खालका प्रश्न उठाएको छ । जनतालाई विचलित बनाएको छ । कता–कता व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था बनाएको छ । त्यसैले अब ढिलो नगरिकन ठूला दलहरूले आफूले पाएको जिम्मेवारीको गाम्भीर्य बुझी असहमतिका बिच पनि सहकार्य गर्ने राजनीतिक संस्कारको विकास गर्न जरुरी छ ।