Shittalpati
सीतारामको मुक्तक संग्रहभित्र घोत्लिदा

मुक्तक कविताको लघुतम रूप हो । कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चार  विधामध्ये कविताको एउटा भेद मुक्तक हो । लामा–लामा कविता, खण्डकाव्य र महाकाव्य पढ्न र लेख्न फुर्सद नभएकाहरूका लागि मुक्तक स्वादिलो चटनीको रूपमा लोकप्रिय हुँदै आएको छ । महाकवि देवकोटाले मुक्तकको सन्दर्भमा भनेका छन, “कतै कतै चार गहकिला पङ्तिले त्यति भन्छन्, जो चालिसले भन्न सक्दैनन् ।” यसबाट यो प्रष्ट हुन्छ कि मुक्तक अत्यन्त खँदिलो हुन्छ र भाव प्रक्षेपणमा तीव्रता हुन्छ । यसै परिप्रेक्ष्यमा मुक्तक कविताबाट प्रभावित भएर साहित्यकार सीताराम घिमिरेले “मुक्तक संग्रह” (२०८२) प्रकाशनमा ल्याएका छन् । लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन नगरपालिका –११ हनगादी निवासी माता शीवकला रेग्मी र पिता हरिप्रसाद रेग्मीको सुपुत्र सीताराम घिमिरेको जन्म वि.सं.२०१४ जेठ १ गते भएको हो ।

पाल्पा तानसेनमा पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, शीत काव्य समाज लगायत विभिन्न साहित्यिक संस्थाहरूले आयोजना गर्ने साहित्यिक कार्यक्रमहरूमा नियमित उपस्थिति जनाउनुका साथै कविगोष्ठीहरूमा कविता तथा मुक्तक सुनाउँदा सुनाउँदै र सामाजिक सञ्जालमा मुक्तकहरू संप्रेषण गर्दागर्दै  घिमिरे मुक्तककारको रूपमा मुक्तक संग्रह सहित उपस्थित भएका छन् । मुक्तककार घिमिरेले मुक्तक संग्रहको नाम ‘मुक्तक संग्रह’ नै राखेका छन् । सीताराम घिमिरेर चम्फाकुमारी घिमिरे दाम्पत्य जीवनमा बाँधिएको ५० औं वर्षगाँठ, स्वर्ण विवाह महोत्सव वर्षको अवसरमा सार्वजनिकरण भएको मुक्तक संग्रहको प्रकाशक मुक्तककार कै धर्मपत्नी चम्फाकुमारी घिमिरे रहेकी छन् । कूलजम्मा ३ सय ९३ वटा मुक्तकहरू संग्रहित रहेको मुक्तक संग्रहका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. शालिकराम पौड्यालले भूमिका लेखेका छन् । मेरो भन्नु शीर्षकबाट मुक्तककारले साहित्यिक यात्रामा अभिप्रेरणा दिनुहुने र प्रकाशकीय कार्यमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । यसैगरी जेष्ठ पुत्र घिमिरेले बुवाको लेखनी र साहित्यिक यात्राले अझ सफलता पाओस् भनि सबै छोराछोरीको तर्फबाट प्रार्थना गरेका  छन् ।

जहाँ गए पनि चाँडै पाल्पा जाउँ जाउँ लाग्ने याहाँको स्वादिष्ट चुकाउनी खाउँ खाउँ लाग्ने वरिपरि गावैगाउंले घेरिएको यो सुन्दर तानसेन श्रीनगरको काखमा संधैभरी रमाउँ रमाउँ लाग्ने । उल्लेखित मुक्तक  मुक्तक संग्रहभित्र रहेको मुक्तककारको पहिलो मुक्तक हो । जुन मुक्तक जन्मभूमि पाल्पा तानसेन केन्द्रीत रहेको छ । जसले चारपङ्तिभित्र पाल्पा र तानसेनको सुन्दरतालाई उजागर गरेको छ । पाल्पा, तानसेन र श्रीनगरका साथै तानसेनको मिठो परिकार चुकाउनीलाई परिचित गराइएको छ । मुक्तकाकारको ३९३ औं स्थानमा रहेको अन्तिम मुक्तक यसप्रकारको रहेको छ । आमाको कोखीको रिण चुकाउन बाँकी छ बाबुको काँधको कर्जा चुकाउन बाँकी छ यस जन्मभूमिको कर्तब्य पूरा गर्न बाँकी छ आधा उमेर भैसक्यो सबै काम बाँकी नै बाँकी छ । जन्मदिने माता र कर्मदिने पिताको रिण चुकाउन बाँकी छ । जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्य पूरा गर्न बाँकी नै छ ।

उमेर छदै केही गर्न सकिएन भन्ने आशय व्यक्त गर्दै सन्ततिहरूले उमेर र समय छदैं माता पिता र मुलुकका लागि उत्तरदायित्व वहनका साथ कर्तव्य पालन गर्नुपर्ने भनि अभिप्रेरणात्मक सन्देश संप्रेषण गरेका छन् । मुक्तककारले मुक्तकमार्फत मुलुकको अवस्था, सामाजिक र साँस्कृतिक रूपमा देखापर्दै गएका विकृति र विसंगतीहरू, नैतिकता र इमान्दारिता भित्रका संकट, छोराछोरीहरूको विदेश पलायन, अस्थिर राजनीतिका साथै मोबाइलको लतले सन्ततिलाई बिगार्ने पो हो कि, मानवीय कार्यसम्पादनहरू सबै यान्त्रिकीकरण हुँदै जानाले मनवको अस्तित्वमाथि नै कतै संकट त आउने हैन ? भनेर चिन्ता प्रकट गरेका छन् । यद्यपी उनका मुक्तकहरूमा जन्मभूमिप्रतिको समर्पण भाव, युवाशक्तिनै राष्ट्रशक्ति , बालापनको मजा, प्रकृतिको सुन्दरता, कृषि कर्म, सम्भावनाको खोजी, सतमार्ग धारण लगायतका भावहरू सम्मिलित भएका पनि छन् । उनका  कुनै मुक्तकमा दुःख, पीडाका साथै जीवनका निराशा भाव झल्किएका छन् भने अर्को मुक्तकमा बाच र बचाउ भन्ने मार्गहरू समेत प्रशस्ति गरिएका छन् । घिमिरेले मुक्तक मार्फत जीवनमा हरेश नखान, संस्कारको संरक्षण र सम्बद्र्धन गर्न, नेपाली भाषालाई माया गर्न, रोजगारमूलक शिक्षा नीति लागू गर्न, परम्परागत सीप र ज्ञानहरू पुस्तान्तरणसम्म हस्तान्तरण गर्न सिकाएका छन् ।

जीवनलाई सधैं प्रेमिल बनाउन, सुखभन्दा पनि खुशीलाई आत्मसात गर्नु, परोपकार र सेवा गर्नु, मानव भएर जन्मनुको भाव प्रदर्शन गर्नु, वातावरणको संरक्षण सहित प्रकृतिप्रेमी रहनु, जीवनलाई सुमार्गमा लगाइ असल कर्म गर्नु जस्ता सन्देशहरू प्रवाह भएका छन् । अभिधा, लक्षणा र व्यञ्जना शव्दशक्ति रहेका तिनै किसिमका मुक्तकहरू संग्रहभित्र रहेका छन् । मुक्तकको पहिलो पङ्तिले विषय वा भाव उठान, दोस्रो पङ्तिले समर्थन, तेस्रो पङ्तिमा  चोटिलो प्रहार र चौथो पङ्तिमा उद्देश्यमुखी निष्कर्ष रहेको हुनुपर्छ । सीतारामका अधिकांश मुक्तकहरू यस्तै विशेषताले पूर्ण छन् । बिम्व, प्रतीक र रसले भरिएका मुक्तकहरू पनि संग्रहभित्र छन् । निष्कर्षमा भन्नुपर्दा नेपाली साहित्यको इतिहासमा पाल्पाबाट अर्को एउटा मुक्तक संग्रह प्रकाशित भएको छ । लघुतम काव्यको क्षेत्रमा फेरि एउटा मुक्तक कविता संग्रृहित भएको छ । मुक्तक प्रेमीहरूले संग्रहभित्र रहेका मुक्तकहरूको स्वाध्ययन गरेर समसामयिक विषयमा सजिलोसँग मुक्तक लेख्न सकिदो रहेछ भन्ने ज्ञान र सीप पाउँछन् । मुक्तकले भूत वर्तमान र भविष्य बोलेका छन् । वर्तमान नेपाली साहित्यको विकासमा मुक्तक अत्यन्त लोकप्रिय कविता र छोटो संरचनामा लेख्न सकिने कविता  भएकोले सीतारामको मुक्तकले पनि सफलताका साथ लोकप्रियता हासिल गर्न सकोस् भन्ने कामना गर्दछु । लेखकको बाँकी जीवन अझ मुक्तक काव्यमय बनिरहोस् – शुभकामना ! अन्तमा, कोपिलो र चोपिलो आहा सीतारामको मुक्तक पोटिलरुो र चरुोटिलो आहा सीतारामको मुक्तक हिजोआजभन्दा भोलि झनै बन्दै जाओस अझै गर्विलो र दर्विलो आहा सीतारामको मुक्तक  ( लेखक रेग्मी स्रष्टा समीक्षक समेत हुन् )
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update