Shittalpati
खाद्य सुरक्षामा चुनौती

यो वर्ष नेपालका तराई मधेश र पहाडका केही जिल्लामा साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी परेको छैन । मुख्य अन्नबाली धान रोपाइँका निम्ति जेठ अन्तिमदेखि नै पर्याप्त पानी आवश्यक हुन्छ । तर पनि पर्याप्त पानी पर्न सकेको छैन । किसान धान बाली लगाउन नपाउँदा तड्पिएका छन् । साउन  दोस्रो हप्ता लाग्दा समेत अधिकांस क्षेत्रहरु सुख्खा छन् । यसले यो वर्ष खाद्य सुरक्षामा चुनौती देखिएको छ । खाद्यान्न मानिसको आधारभूत आवश्यकता हो । 

दैनिक कार्यको लागि आवश्यक पर्ने शक्तिका साथै शारीरिक र मानसिक वृत्ति विकासका लागि आवश्यक पर्ने तत्वहरु खाद्यान्नबाटै प्राप्त हुन्छन् । मानिसले पशुजन्य श्रोत र वनस्पतिजन्य श्रोतबाट आवश्यक खाद्यपदार्थ प्राप्त गर्दछन् । तर खडेरीका कारण खाद्यन्न उत्पादनमा कमी हुने निश्चित छ । मुलुकको अर्थतन्त्र कृषि प्रधान हो । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान १६ प्रतिशत छ । तर, वर्षाको अवधि र तीव्रता दुवै निरन्तर परिवर्तन भइरहेकाले जलवायु परिवर्तनका परिणामबाट किसान प्रभावित भइरहेका छन् । देशको ४० प्रतिशतभन्दा बढी कृषि भूमि अझै पनि आकाशेपानीमा निर्भर छ । जसका कारण समयमै पानी नपर्दा यी क्षेत्रमा रोपाइँ हुन सकेको छैन । जसले गर्दा खाद्य असुरक्षा बढ्ने खतरा देखिएको छ । सतह सिँचाइको संकट, वर्षा चक्रको अस्थिरता, भूमिगत जलको तीव्र गिरावट र राज्यको लापरवाहीले गर्दा अधिकांस क्षेत्र आज सुक्खाग्रस्तको गम्भीर अवस्थामा पुगेका छन् । यो केवल धान रोपाइँ हुन नसकेका क्षेत्रको संकट मात्र होइन, देशकै खाद्य सुरक्षालाई चुनौती दिने राष्ट्रिय संकट हो । सरकारी तवरबाट तराईका केही जिल्लालाई सुक्खाग्रस्त क्षेत्र भनेर घोषणा गरेको अवस्था छ तर दीर्घकालीन समाधानका लागि कुनै ठोस नीति देखिएको छैन । अब पनि सरकारले यसतर्फ ध्यान नदिने हो भने  कुनै बेला अन्न निर्यात गर्ने मुलुक निकट भविष्यमै अन्न माग्नुपर्ने देश बन्न सक्छ । तसर्थ प्राप्त सिचाँइको व्यवस्था गरेर खाद्य संकटबाट मुलुकलाई जोगाउने दिशामा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update