
नेपाल कम्युनियष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेकपा एमालेले उनको स्मरण गरेको हो ।
उनी नेपालका प्रथम गणतन्त्रवादी नेता समेत हुन् । जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई संसारका कुनै पनि शक्तिले रोक्न सक्दैनन् भन्ने पुष्पलालको विचार अहिले पनि महत्वपूर्ण रहेको छ । जनवादी केन्द्रीयता लागु हुन सकेन भने पार्टी जीवनमा नै बेथिति देखापर्ने उनी बताउन्थे । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा सम्पत्ति र लोकप्रिय सर्वोच्च व्यक्ति हुन् । पुष्पलाल उच्च विचार र सादा जीवनका धनी थिए । उनले कहिले पनि आफ्नो व्यक्तिगत जीवन र स्वार्थलाई केन्द्रमा राखेनन् । नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेषक पुष्पलालका विचार र आदर्श व्यक्तित्व नेपाली कम्युनिष्ट इतिहासले कहिल्यै पनि बिर्सन सक्दैन । तर नेपालका कुनै पनि कम्युनिष्टले उनको बाटोलाई पहिल्याउन सकेका छैनन् । सबै कम्युनियष्टले आफूलाई पुष्पलालका अनुयायी भएको भन्न कहिल्यै थाक्दैनन् । उनीहरूले आफूलाई पुष्पलालपन्थी भन्दै आएका छन् तर पुष्पलाल पथमा हिँडिरहेका छैनन् । किनभने पुष्पलालले स्थापना गरेको नेपाली कम्युनिष्ट आन्दोलनले ७६ वर्ष पार गर्दा सम्म पनि नेपालमा व्रन्ति सम्पन्न भएको छैन । जसका कारण पुष्पलालका नेपाली व्रन्तिका सुन्दर सपना अधुरै छन् । यति लामो अवधिसम्म पनि पुष्पलालका सपना साकार हुन नसक्नुमा उनकै अनुयायी भनिएका नेपालका कम्युनिष्ट पुष्पलाल पथमा हिँड्न नसक्नु प्रमुख कारण बन्न पुगेको छ ।
पार्टीभित्रको आन्तरिक कलहले पुष्पलालको सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्ष ओझेलमा परेको छ । वर्तमान सन्दर्भमा कम्युनिष्ट पार्टीभित्र पुष्पलालद्वारा प्रतिपादित तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्न सकेको देखिदैन । उनले रोपेको कम्युनिष्ट आन्दोलनको बीउ आज कम्युनिष्ट आन्दोलनको प्रेरणाको साँच्चै नै स्रोत बनेको छ । उनले दिएको समाजको चरित्र चित्रण हाम्रो अग्रगतिको वाहक बनेको छ । त्यही उनले अगाडि सारेको मान्यतामा अडिग भई उनका योगदान र विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सके मात्र साँचो अर्थमा पुष्पलालको स्मरण गर्नुको सार्थकता रहन्छ ।