
साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
भगवान शिव वैदिक देवता हुन् । शिवको अर्थ कल्याण हो । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ । साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दू धर्मावलम्बीहरू पूजाआराधनामा व्यस्त हुन्छन् । भगवान् शिवको पूजाआराधना गर्न मन्दिर पुग्नेहरू भजनकीर्तनमा रमाएर नाचेको दृश्यले जो कोहीलाई पनि पुलकित बनाउँछ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने गहिरो धार्मिक विश्वास पनि छ । हिन्दू धर्मावलम्बीको अनुसार नारीहरूले सोमबार साउन महिनाको व्रत बसी भगवानको पूजाआराधना गर्दा आ–आफ्नो इच्छा, आकांक्षा आदि पूरा हुने धार्मिक विश्वास रहेको पाइन्छ ।