-1752733096.jpg)
आजदेखि हाम्रो यात्रा ३१ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत ३० वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको ३० वर्ष पूरा गरेर ३१ वर्षमा पाइला टेकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ५१ अंक प्रकाशित गरेका छौं । नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ५१ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पुर्याउन पाएकोमा खुशी छौं । आरोह, अवरोह र चुनौतीलाई पार गर्दै यो रुपमा आइपुग्न यहाँहरुको माया, सुझाव, सल्लाह, सहयोगको ठूलो हात छ ।
स्वच्छ र स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई आत्मसात गर्दै पत्रिकाको प्रकाशन सुरु गरेका हामीले, प्रकाशनको यो अवधिमा स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई पूर्णतया पालना गर्ने प्रयास गरेका छौं । कही कतैबाट भुलवश कुनै कमी कमजोरी भएमा त्यसको मूल्याङ्कन पाठकवर्गले गर्नुहुने विश्वास समेत लिएका छौं । दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । केन्द्र,प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, शुभचिन्तकहरुको निरन्तर सहयोगले हामी चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब नविन भविष्यको परिकल्पनामा अग्रसर छौँ । विगतका अनुभवलाई पाठकका रूपमा लिई नयाँ यात्रामा नयाँ जोश, नयाँ उत्साह, नयाँ संकल्प र नविन ऊर्जाका साथ संलग्न हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । मोफसलमा रहेर समाचारमूलक पत्रिका प्रकाशन गरी यो यात्रा तय गर्नु पक्कै पनि सामान्य कार्य हैन । अहिले छापा माध्यमसामु अनेकौँ चुनौती छन् । खासगरी विद्युतीय माध्यमहरूले विस्तारै कागजी माध्यमलाई विस्थापन गर्न लागेको यो समय हामी मात्र होइनौँ विश्वभरका छापा माध्यमहरू अफ्ठेरोमा परिरहेको अवस्था छ । तर, छापा माध्यमहरूको अनिवार्यतालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । छापा माध्यमलाई सुरक्षित गर्नु प्रवद्र्धकसहित संस्थामा आवद्ध वा शुभेच्छुकहरूबाट मात्र सम्भव हुँदैन । सरकारको नीति सहयोगी हुनुपर्छ ।
अहिले विज्ञापनदेखि अनेक सन्दर्भमा छापा माध्यमहरूले अप्रिय अवस्थाको सामना गरिरहनु परेको छ । यो बेलामा सरकारले स्पष्ट नीतिका साथ छापा माध्यमहरूको सुरक्षाको लागि उचित नीति र निर्णय गरोस् भन्ने हाम्रो आग्रह छ । भूकम्प जस्ता महाविपत्तिमा होस् वा कोरोना महामारीका बेला हामी निरन्तर स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म ल्याउन तल्लीन रहयौं । कठिन यात्रामा अविचलित रुपमा अगाडि बढेरै हामीले ३० वर्षको यात्रा सफलतापूर्वक पार गरेका हौं । विगत केही वर्षदेखि यो दैनिकलाई अनलाइन संस्करणमा समेत सँगसँगै अगाडि बढाएका छौं । मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामी निरन्तर अगाडि बढ्ने अठोट गरेका छौं । हाम्रो यात्रालाई तीन दशकसम्म ल्याइपुर्याउन धेरै सहयोगी सहकर्मीहरूको योगदान रहेको छ । जसलाई हामी बिर्सन सक्दैनौँ । अन्त्यमा, यो यात्रामा साथ दिनुहुने समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुक, लेखक, संवाददाता र कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । आगामी दिनमा स्वतन्त्र पत्रकारिताको मूल मर्मलाई हृदयङ्गम गर्दै आम पाठकको अपेक्षा अनुरुप प्रकाशनलाई निरन्तरता दिनुका साथै स्तरयुक्त सामग्री पस्किरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।