
हरेक वर्ष मे ३१ तारिख, आज २०८२ साल जेठ १७ गतेका दिन मनाइने विश्व सुर्तिजन्य दिवसले सुर्तिजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य, सामाजिक र आर्थिक क्षतिको बारेमा चेतना फैलाउने काममा सहयोग पुग्ने विश्वास गरिएको छ । हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको पहलमा सन् १९८७ देखि यो दिवस नेपालमा पनि मनाउँन थालिएको हो । दिवसले संसार भर सुर्तिजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा व्यापक रुपमा जनचेतना फैलाउने र सुर्तिजन्य पदार्थ प्रयोगलाई कम गर्ने बारे प्रभावकारी सचेतना फैलाएको छ । त्यस कारण पनि यो दिवस अहिले पनि उत्तिकै सान्दर्भिक छ । विशेष गरी नेपाल जस्तो देशमा, जहाँ सुर्तीजन्य पदार्थको प्रयोग व्यापक छ र यसको दुष्प्रभावले हरेक वर्ष हजारौंको मृत्यु हुने गर्दछ । त्यसलाई कम गर्ने अभियानको लागि यो दिवस कोशे ढुंगा सावित भएको छ । नेपालमा सुर्ती, चुरोट, खैनी, गुड्का र अन्य चबाउने तथा पिउने पदार्थको सहज उपलब्धता, सस्तो मूल्य र कमजोर नियमन पनि सबै भन्दा विकराल समस्या हो ।
विशेष गरी किशोर–किशोरी, श्रमिक वर्ग र ग्रामीण क्षेत्रका बासिन्दा यसमा झन् बढी प्रभावित छन् । सुर्तीजन्य पदार्थले नशा मात्र होइन, क्यान्सर, ह्दयघात, श्वासप्रश्वासको समस्या र गर्भवती महिलामा गम्भीर असर पु¥याउँछ । सरकारले सुर्तीजन्य पदार्थमा कर लगाउने, सार्वजनिक स्थानमा सेवनमा रोक लगाउने, चेतनामूलक सन्देश राख्नेजस्ता प्रयास त गरिरहेको छ, तर तिनको प्रभावकारिता अझै कमजोर देखिन्छ । मात्र कानुन बनाउनु पर्याप्त छैन, त्यसको कार्यान्वयन कडाइका साथ गर्नुपर्ने बेला आएको छ । यस दिवसमा हामी सबैले सुर्तीजन्य पदार्थको प्रयोग रोक्न सकिने र स्वास्थ्यप्रति जिम्मेवार बन्ने प्रतिबद्धता जनाउनुपर्छ । विद्यालय, संचार माध्यम, स्वास्थ्य संस्था र समुदायले मिलेर सचेतना अभियान चलाउनु जरुरी छ । सुर्तिरहित जीवनशैली नै स्वस्थ, समृद्ध र मर्यादित जीवनको आधार हो, भन्ने कुरालाई सबैले वुझ्न जरुरी छ । अनि मात्र दिवस मनाउनुको सार्थकता सावित हुने छ ।