
गर्मी मौसम दिनप्रतिदिन तीव्र हुँदै गएको छ । वर्तमान अवस्थामा मानव स्वास्थ्यमा यसको गहिरो असर देखिन थालेको छ । वातावरणीय असन्तुलन, अत्यधिक तापमान र बदलिँदो मौसमी प्रवृत्तिले नागरिकको दैनिक जीवनशैलीमात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ। विशेष गरी वृद्धवर्ग, बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरूका लागि गर्मीका यी लहरहरू चुनौतीपूर्ण बन्दै गएका छन् ।
पछिल्लो समय देशका विभिन्न भू–भागहरूमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको तथ्यांकले सावधानीको संकेत दिन थालेको छ । गर्मीको यस्तो स्थितिमा शरीर हाइड्रेट रहनु अनिवार्य हुन्छ । पानीको प्रशस्त सेवन, घरमै तयार गरिएको सुला पानी, फलफूलको रस वा ओआरएस सेवन गर्नु गर्मीबाट जोगिने पहिलो र सबैभन्दा सरल उपाय हो ।
साथै, अत्यधिक घाममा बाहिर ननिस्कनु, आवश्यक परे टोपी, छाता वा सनग्लास प्रयोग गर्नु, हल्का कपडा लगाउनु तथा बिहान वा साँझ मात्र बाहिर निस्कनु जस्ता सतर्कता अपनाउनु आवश्यक हुन्छ । घर वा कार्यस्थलमा शीतल वातावरण कायम राख्न झ्यालढोका खुला राखेर हावाको आवागमन सुनिश्चित गर्नु वा पंखा र कूलरको प्रयोग गर्नु उपयुक्त उपाय हुन् । खानपानमा पनि गर्मीको मौसममा विशेष ध्यान दिनुपर्छ । तेलिलो, मसलेदार तथा बाहिरको झोलिलो खाना जति सकिन्छ टार्नुपर्छ । यस्ता खानेकुराले शरीरमा तातोपन बढाउने र अपच, एसिडिटी तथा अन्य पेटसम्बन्धी समस्याहरू निम्त्याउन सक्छन् । ताजा फलफूल, हरियो तरकारी, सुपाच्य खाना र नियमित भोजनको सेवनले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै गर्मी सहन सक्ने क्षमता वृद्धि गर्छ । अर्को महत्वपूर्ण पक्ष हो – जीवनशैलीमा सन्तुलन । गर्मीको प्रभावलाई कम गर्नका लागि नियमित व्यायाम, ध्यान तथा योगजस्ता शारीरिक र मानसिक अभ्यासहरूको अभ्यास गर्नु उत्तम हुन्छ ।
बिहानको चिसो समय व्यायामका लागि उपयुक्त मानिन्छ । पर्याप्त निद्रा, तनावमुक्त जीवनशैली र समय–समयमा स्वास्थ्य परीक्षणले पनि गर्मीबाट हुने जोखिम कम गर्न सहयोग पु¥याउँछ । यस परिस्थितिमा सरकार तथा स्थानीय निकायहरूको भूमिकासमेत महत्त्वपूर्ण रहन्छ । सार्वजनिक स्थानहरूमा पिउने पानीको व्यवस्था, स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम, शीतल विश्रामस्थलको निर्माण तथा स्वास्थ्य शिविर सञ्चालन गरिनु जरुरी देखिन्छ । विद्यालय, कार्यालय र सामुदायिक केन्द्रहरूमा पनि गर्मीबाट जोगिने उपायहरूको बारेमा जानकारी गराइनु आवश्यक छ । गर्मी मौसमको असर केवल शारीरिक असहजतासम्म सीमित रहँदैन । यसले कृषिमा खडेरी, जनावरमा रोग, र विभिन्न संक्रमणहरूको जोखिम बढाउँछ । यस्तो अवस्थामा हाम्रा चेतनशील क्रियाकलापले ठूलो राहत दिन सक्छ ।