
राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपालमा गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्षको जेठ १५ गते अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भएको थियो । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन हो । आज १८ औँँ गणतन्त्र दिवस मनाउँदै गर्दा आम जनतामा उत्साह भने देखिदैन । जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा/गर्दा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानी जनतालाई निरुत्साहित बनाउने किसिमको छ ।
गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आम जनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । एक हिसाबले भन्ने हो भने गणतन्त्रले आम जनताको जीवनस्तरमा बदलाव ल्याएन, बरु सीमित शासकीय वर्गले मात्रै त्यसको फाइदा उठाए । समाजको तल्लो तहले गणतन्त्रबाट अपेक्षित फाइदा लिनुपर्नेमा हुने–खाने वर्गमा मात्रै सीमित हुनु दुर्भाग्यपूर्ण अवस्था हो । जनताका प्रतिनिधिहरूले अधिनायकवादी राजतन्त्रको अन्त्य गरिदिएपछि मुलुक विधिवत् रूपमा गणतन्त्रमा प्रवेश गरेको हो । यो परम्परागत शासकीय पद्धतिको विस्थापनसँगै आम जनताको जीवनमा पनि प्रतिफल देखापर्ने अपेक्षा थियो । तर, जनताको आशामा तुषारापात भएको छ । यो अत्यन्त दुखद् हो ।
आर्थिक समृद्धिसहितको विकासले मात्रै जनताले बगाएको रगतपसिनाले सार्थकता पाउनेछ । तर अहिलेसम्म त्यसो हुन सकिरहेको छैन । जनआन्दोलनमा व्यक्त जनताको त्याग र बलिदानले स्थापित गरेको उपलब्धि सैद्धान्तिक रूपमा कार्यान्वयन भए पनि राजनीतिक दलले त्यसलाई व्यावहारिक रुप दिन अझै सकेका छैनन् । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन नसक्नु दलहरुकै कमजोरी हो । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । गणतन्त्र दिवस मनाउँदैमा गणतान्त्रिक मन र मस्तिष्क हुँदैन, गणतान्त्रिक आदर्श हुन सक्दैन । आचरण र व्यवहार गणतान्त्रिक हुनुपर्छ । जबसम्म जनस्तरमा परिवर्तनको अनुभूति हुन सक्दैन तबसम्म गणतन्त्र दिवसको मर्मले सार्थकता प्राप्त गर्न सक्दैन । यसर्थ दिवसको मर्मलाई आत्मसाथ गर्ने दिशामा सरकार र राजनीतिक दलहरुले ध्यान दिन जरुरी छ ।