Shittalpati
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण

पाल्पा,जिल्लाको रामपुरमा महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । यहाँको रामपुर नगरपालिका र नगर खेलकूद विकास समितिले महिला, पुरुषका लागि भलिबल र फुटबल खेल सम्बन्धित प्रशिक्षण सञ्चालन गरेको हो ।

मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । नगरप्रमुख रमणबहादुर थापाले प्रशिक्षणको उद्घाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले बालबालिकाको खेल प्रतिभा प्रस्फुटनको लागि प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण टेवा दिने विश्वास व्यक्त गरे । पछिल्लो समय बालबालिकाहरु इन्टरनेटमा व्यस्त हुने गरेको बताउँदै बालबालिकालाई सिर्जनशिल र लगनशिल बनाउन खेलकुद महत्वपूर्ण रहेको उनले बताए । साना बालबालिकालाई समय मै प्रशिक्षण दिएर मात्र खेलमा सहभागी गराएमा उत्कृष्ट नतिजा ल्याउन सकिने भएकाले प्रशिक्षणमा जोड दिएको नगर प्रमुख थापाले बताए । भविष्यमा खेलकुदको माध्यम बाटै समाजलाई चिनाउन बालबालिका सक्षम हुने उनले विश्वास व्यक्त गरे । विद्यालयस्तर बाटै प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने नगर प्रमुख थापाले बताए । साथै उनले क्रिकेट र कवड्डी लगायतका विद्यामा पनि प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कार्यपालिका शारदा आचार्य, नेपाली काँग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्रका अध्यक्ष भिमविश्व भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि ईश्वर अधिकारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले विद्यालयस्तर बाटै प्रशिक्षण सुरु गर्न सकियो भने प्रशिक्षण थप प्रभावकारी हुने बताए । वक्ताहरुले खेलकुदले विद्यार्थीहरुको सर्वा·िण विकासमा टेवा दिने बताए । भलिबल प्रशिक्षक राष्ट्रिय रेफ्री अनन्त प्रसाद श्रेष्ठले प्रशिक्षणको बारेमा जानकारी गराएका थिए । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले विगतमा समितिले मेयरकप अन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि यस वर्ष प्रशिक्षणको माध्यमबाट नयाँ पुस्तालाई खेलप्रति जागरुक गराउन र खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरिएको बताए । प्रशिक्षणमा फुटबलतर्फ ८ देखि १२ वर्षसम्म र भलिबलतर्फ २० वर्ष मुनिकालाई समावेश गरिएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता,समितिका सदस्य डोलराज श्रेष्ठको स्वागत, महासचिव राजु गुरुङको सञ्चालनमा कार्यक्रम भएको थियो । राष्ट्रिय भलिबल रेफ्री अनन्त प्रसाद श्रेष्ठले भलिबल प्रशिक्षण र फुटबलको प्रशिक्षण सरोज अधिकारी, अनिल शाही, एन्फा रेफ्री केशव श्रेष्ठ, कशम मल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update