
दाङ, लुम्बिनी प्रदेश सरकारले सरोकारवालासँग बजेटबारे छलफल गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तर्जुमा बारे सरकारमा सहभागी राजनीतिक दल, प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । केही दिन अघि सरकारमा सहभागी दलका प्रमुखहरूसँग छलफल गरेको उसले शनिबार प्रदेशसभा सदस्यहरूसँग पनि छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा छलफल गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्ने लगायतका सुझावहरू दिएका छन । यस्तै सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूले प्रदेशको वास्तविक अवस्था अनुसार बजेट ल्याउन सुुझाव दिए । कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।
प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ति र कार्यान्वयनमा खुट्टा कमाउनु नहुने भन्दै संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन उनले जोड दिए । नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए । सरकारमा सहभागी दलहरूको प्रतिबद्धता केलाएर जनतालाई गरिएको वाचा अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन उनले जोड दिए ।
एमालेका संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिए । मुख्यमन्त्री चेतनारायण आचार्यले सबै सुुझावलाई आत्मसाथ गरी आगामी बजेट ल्याइने बताए । सरोकारवाला निकायसँग व्यापक छलफल गरेर मात्र आगामी बजेट ल्याइने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले आगामी बजेट कस्तो ल्याउने भन्ने विषयमा छलफल गरिरहेको उल्लेख गरे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताए । “अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन तर हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउनेछौं, जसले प्रदेशलाई लयमा अगाडि बढाउनेछ” उनले भने,“विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजाने गरी प्रदेश सरकार अघि बढ्ने प्रयासमा छ ।” मुख्यमन्त्री आचार्यले आगामी वर्षको बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए ।