Shittalpati
समृद्धिको मूल आधार : परिवार दिवस

वर्षेनी मई १५ तारिखका दिन अन्तर्राष्ट्रिय परिवार दिवस मनाइन्छ । आज मनाईदै गरेको अन्तर्राष्ट्रिय परिवार दिवसले सबैलाई प्रेम, समझदारी र जिम्मेवारीमा आधारित पारिवारिक जीवनको पुनः महत्व झल्काउने प्रेरणाको स्रोत बन्ने छ ।

संस्कार, शिक्षा, सहिष्णुता र सहयोगको पहिलो पाठशाला परिवार नै हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मा सुरु गरेको यो दिवसले पारिवारिक संरचना, त्यसको महत्व, चुनौती र योगदानलाई अन्तर्राष्ट्रिय रुपमा उजागर गर्ने प्रयास गर्दै आएको छ । परिवार केवल जैविक सम्बन्धको मात्र नाम होइन, यो सामाजिक, भावनात्मक र नैतिक मूल्यको जरा हो । हामी र हाम्रो समाजको सबै भन्दा नजिक र मानव जीवनको विकसित स्वरुपलाई झल्काउँने कार्यका लागि हरेक परिवारको महत्वपुर्ण योगदान रहन्छ । एक सशक्त र स्वस्थ परिवारले मात्र सुदृढ समाज र समुन्नत राष्ट्रको निर्माण गर्न सक्छ । परिवार असल भयो, भने मानव जीवन नै सफल हुन्छ । आजको परिवेशमा पारिवारिक संरचना विविध संकटमा छ । आर्थिक चुनौती, प्रविधिको अत्यधिक प्रयोग, वैदेशिक रोजगार, सम्बन्धमा दूरी र पारिवारिक मूल्यहरूको क्षयले पारिवारिक सन्तुलनलाई खल्बल्याइरहेको छ ।

एकल परिवार प्रणालीको बढ्दो प्रचलनले वृद्ध अभिभावकको अवस्था र बालबालिकाको संरक्षणमा प्रश्न उठने गरेका छन् । त्यसैले, परिवार दिवस केवल उत्सव मात्र होइन, यो आत्मसमीक्षा गर्ने दिन पनि हो । हामी कसरी आफ्ना सम्बन्धहरूलाई मजबुत बनाउने, सन्तानमा नैतिकता कसरी रोप्ने र वृद्धजनको सम्मान कसरी गर्ने –यस्ता विषयमा गम्भीर बहस र अभ्यास आवश्यक छ । यी सबै कामको लागि सरकार, सामाजिक संस्था र हामी सबैको महत्वपूर्ण उत्तरदायित्व रहन्छ । पारिवारिक मूल्यको संरक्षणमा लाग्न सहअस्तित्व, संवाद र समर्पणको भावना पुनःजागृत गर्नु यो दिवसलाई व्यवहारिक बनाउन अत्यावश्यक छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update