Shittalpati
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै

पाल्पा,“विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ ।

पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तक्र्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यो दिवस मनाइँदैछ । शेक्सपियरलगायत विभिन्न चर्चित लेखकको जन्मदिनको अवसर पारेर संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सो दिवस मनाउन थालेको हो । नेपालमा भने पाँच वर्षदेखि गैह्रसरकारी क्षेत्रबाट यो दिवस मनाउन थालिएको हो । युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५ देखि हरेक वर्ष आजको दिन (२३ अप्रिल) मा विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ । बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवस पनि आजै पर्छ । विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ । यो दिवस पुस्तक र लेखकलाई सराहना गर्ने, समाज रूपान्तरणको लागि योगदान गर्ने साहित्यकारहरूको सम्मान गर्ने आशासहित पुस्तक पढ्ने संस्कारमा वृद्धि गराउने उद्देश्यले पढाइको आनन्दको अन्वेषण समेत गर्नका लागि समर्पित दिन हो । यस दिनले हामीलाई पुस्तकहरूको गतिशीलतालाई कदर गर्ने अवसर दिन्छ र पुस्तक तथा तिनीहरूलाई उत्पादन, वितरण गरी पाठकको हातसम्म पुर्‍याउने पुस्तककर्मीहरूको प्रशंसा गर्न सिकाउँछ । पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका बहुसंख्यक राष्ट्रका लेखक, प्रकाशक, पाठक, पत्रकार तथा पुस्तकप्रेमीले यसलाई लेख्न, पढ्न र प्रकाशन गर्न पाउने स्वतन्त्रताको रूपमा तथा रचित र लिखित सामग्रीलाई बौद्धिक सम्पत्तिको रूपमा मानेर त्यसको संरक्षणका लागि प्रतिलिपि अधिकार दिवसको रूपमा समेत मनाउने गरेको पाइन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update