Shittalpati
तरलता जोखिम र व्यवस्थापन

बैंकहरुको तरलता जोखिम व्यवस्थापनमा लामो समयदेखिको बन्दाबन्दीले चुनौति थपेको छ । सेवाग्राहीले बैंकबाट पैसा झिक्ने र जम्मा नगर्दा बैंकहरुमा डिपोजिट हुन सकेको छैन । लामो समयको लकडाउनका कारण आय–आर्जनको स्रोत नभएपछि सेवाग्राहीले बैंकमा जम्मा गरेको रकम धमाधम निकाल्न थालेपछि बैंकमा डिपोजिट हुन सकेको छैन जसले गर्दा तरलतामा थप समस्या देखिन थालेको छ ।

ऋण तिर्ने समय पछि सारिएको र बचत निकाल्ने दर बढेको तर निक्षेपमा ब्याज समयमा दिनुपर्ने र नयाँ निक्षेप संकलन धेरै नहुने भएकाले पनि तरलताको समस्या हुने देखिएको छ । यो महामारी लम्बिंदै जाने हो भने बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्ने वा जुटाउँदा अस्वभाविक दस्तुर तिर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन । यस्तो अवस्था सिर्जना भए तरलता जोखिम वृद्धि हुन्छ । अर्कोतर्फ, कर्जा लगानी हाल प्राय ठप्प रहेकाले लगानीयोग्य पूँजी पनि बैंकसँग यसै रहिरहेको छ । यसले गर्दा बैंकले ठूलो मात्रामा अपरच्युनिटी लस व्यहोर्नु पर्ने अवस्था छ । यो पनि अधिक तरलताको जोखिमको अवस्था हो ।

यसलाई व्यवस्थापन गरी नोक्सान कम गर्न राष्ट्र बैंकले उचित निति लिन आवश्यक छ । पाल्पा लगायतका देशैभरका बैंकहरुमा ९० प्रतिशत ग्राहकहरुले रकम झिक्ने र १० प्रतिशतले मात्र जम्मा गर्ने गर्दा डिपोजिट हुन सकेको छैन । बचत रकम झिक्ने मात्र बढेपछि बैंकका लगानीकर्तादेखि कर्मचारीहरु चिन्तित छन् । बैंकमा मुद्दती रकम बाहेक अन्य खाताको रकम रित्तिदै गएको छ । जसको कारण बैकहरुलाई कर्जा प्रवाहमा समेत समस्या पर्ने देखिएको छ । तरलता अभाव कम गर्नको लागि कोरोना संक्रमण पछि बैंकले आफ्नो निक्षेपको ४५ नेपाल राष्ट्र बैंकको खातामा नगद रिजर्भ अनुपातको रुपमा राख्नु पर्नेमा ३५ मा झारेको छ । यसले तरलता अभावलाई केही राहत मिलेपनि यतिमात्रले लामो समयसम्मको समस्या समाधान गर्दैन । संकटको समयमा बैंकहरुले ग्राहकको विश्वास कायम गर्न र वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्न छोटो, मध्यम र विभिन्न दीर्घकालीन प्रभाव आँकलन गरी जोखिम न्यूनीकरण विधिको परिवर्तनमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update