नेपाली समाजमा विभिन्न जातजाति र समुदायको आ–आफ्नै मौलिक चाडपर्वहरु रहेका छन् । नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत रहेको तामाङ समुदायको ठूलो पर्वका रुपमा सोनाम ल्होसारलाई लिने गरिन्छ । हिउँदे महिना अर्थात् पुस, माघ र फागुन ल्होसार पर्वले रंगिने मास हुन् । मूलतः भूगोल, ज्योतिष, पात्रो तथा जाति–भाषा नामले समय, तिथिमिति र नाममा फरक–फरक पर्न गएकाले ल्होसार पर्व फरक–फरक मितिमा मनाइएको देखिन्छ । प्रत्येक ल्होसारको शाब्दिक अर्थ र उपादेयतामा खासै विभिन्नता भने पाइन्न । प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका ल्होसार (ल्होछार) पर्वहरू आज एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएको छ भने अर्कोतिर नेपालीले टेकेको विश्वको कुनै पनि भू–भागमा विस्तार भइरहेको छ । यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध बढिरहेकोमा सन्देह रहन्न ।फरक–फरक समुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुने गर्दछ ।
सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जसले ल्होसार पर्वको महत्व झन् बढाएको छ । यस दिन राष्ट्रपति, प्रधानमन्त्री र नेताहरू तथा समाजका अगुवाहरूले समेत शुभकामना सन्देश प्रवाह गर्ने गर्दछन् । जसले गर्दा यो पर्वको महत्व झन् बढेर गएको छ । हाम्रो चाहना पनि चाडपर्वमा सबैको अपनत्व होस् भन्ने नै हो । चाडपर्वहरूले नेपालीमा एकताभाव बलियो बनाउन र सहिष्णु प्रदान गर्न सक्नुपर्दछ । जतिसुकै सानो वा अल्पसंख्यक समुदायकै पर्व भए पनि त्यसले दिने सन्देश एउटै हुन्छ । मुलुकलाई समृद्ध बनाउने अर्थतन्त्रले मात्रै होइन, जनताका चाडपर्व र संस्कृतिहरूले पनि हो । तसर्थ सांस्कृतिक समृद्धिका लागि सोनाम ल्होसारले दिने सन्देश महत्वपूर्ण रहन्छ ।