पाल्पा, प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ । अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।
यस्तै जेवाईसि युथ क्लबलाई २–० को सोझो सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेको छ । यससँगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बाल कुमारी थापाले टोल–टोलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेको बताइन् । स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीको खेल भविष्यको मार्गदर्शक भएको उनको भनाई छ । खेलले अनुशासनसँगै सभ्य नागरिक बन्न सघाउ पुर्याउने उल्लेख गर्दै प्रमुख थापाले सिमित स्रोत र साधनकाबिच पनि खेलकुदलाई उच्च प्राथमिकता दिई सकरात्मक भएको बताएन् ।
७ का वडा अध्यक्ष दोवराज तिवारीले खेलकुदले राष्ट्रलाई चिनाउने बताए । यस्तै नेपाली काँग्रेस रामपुरका सभापति एवं शहिद बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले खेलकुद क्षेत्रको विकासका लागि टोल–टोलमा हुने यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए । क्लवका अध्यक्ष रामु क्षेत्रीको अध्यक्षता, सहसचिव सागर कंडेलको स्वागत, डोलराज श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा विभिन्न विधामा विधागत पुरस्कार प्रदान गरिएको थियो । माघ ६ गते देखि भएको प्रतियोगितामा १७ समूहको सहभागीता रहेको क्लवले जनाएको छ ।