दाङ, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशसरकारले विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले दुुई प्रदेशको विकासर समृद्धिमा एक आपसमा सहकार्य गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशकामुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको छ । सहमतिमा प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एक रूपता कायम गर्ने कुरा समेटिएको छ ।
अन्तर–प्रदेश आबद्ध भएका जमुनाह–हिल्सा सडक,सुर्खेत–तेलपानी–भुरी गाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने साझा प्रतिबद्वता गरिएको छ । यस्तै प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेश बीच एकरूपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी बबईडाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने सहमति गरिएको छ । लुम्बिनी प्रदेशका विमान स्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेतहवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर–सुर्खेत १३२ के.भी.ए.प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रदेश बीच भएको साझा प्रतिबद्धतामा समेटिएको छ ।