बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् । आज इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशूको जन्मदिन पनि हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् । आज भने इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदिनलाई इसाई धर्मलम्वीहरुले पर्वका रुपमा धुमधामका साथ मनाउँदै छन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार जस्तै इसाई धर्मलम्वीहरुले पनि महान पर्व क्रिसमस डेलाई लिने गर्दछन् । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । त्यसमध्ये आज इसाई धर्मका अनुयाईहरूले हसोल्लासका साथ क्रिसमस मनाउँदै छन् ।
नेपाल लगायत विश्वका विभिन्न देशहरुमा आज एकै साथ यो पर्व मनाइँदै छ । इसाई धर्मलम्वीहरुले चर्चमा गई ईश्वरको पूजा गर्ने, साथीसंगीहरूसँग शुभकामना आदान–प्रदान गर्ने, नयाँ लुगा लगाउने, मिठो खाना खाने, घुम्न जाने, गीत, भजन्, नृत्यसहित क्यारोल खेल्दै क्रिसमस पर्व मनाउने गर्छन् । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउँने र आगनमा बालेर यो पर्व मनाउँने गरिन्छ । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउँने गर्दछन् । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्ने जनविश्वास रहेको छ । हाम्रो देशमा दिगो शान्ति र विकासका लागि आध्यात्मिक चिन्तन अपरिहार्य भइसकेको छ । यसर्थ हामी सबैलाई सृष्टिकर्ता उद्धारकर्ता ईश्वरले शान्ति र मेलमिलापतर्फ डोर्याउन सकुन, क्रिसमसको सबैमा शुभकामना !