Shittalpati
चीनको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

पाल्पा, प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।

दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update