पाल्पा, स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ । विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
रिक्त पदमध्ये यसअघि काँग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडाध्यक्षको लागि निर्वाचन हुने छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । यस्तै रुकुम पूर्वको पुथा उत्तरग·ा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाअध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा काँग्रेसका टड्ढ बहादुर पुन ४ सय ८८ मत पाएर अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका बेगम पुनले ४ सय ८० र माओवादीका शिवलाल रोकाले २ सय ३ मत पाएका थिए । यस्तै नेपाली काँग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ४ हो । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५ सय ८० मत पाएका थिए । रुकुम पूर्वको पुथा उत्तरङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाअध्यक्ष पदमा उस अघि माओवादीले जितेको थियो । उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत पाएका थिए । उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ ।
गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २ सय ३४ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत पाएका थिए । यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादव १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८ सय ८९ मत पाएका थिए । लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस र माओवादीलाई यसअघि आफूले जितेका सिटमा विरासत जोगाउने चुनौती रहँदा एमाले भने जित हासिल गरी फाइदा उठाउने दाउमा छ ।