Shittalpati
जनतामा आशा जगाऊ

हिन्दु नेपालीहरुको दसैं र तिहार जस्ता महान पर्वहरु घर आगनबाट विदा भइसकेका छन् । विहीबार  छठ पर्व मनाएसँगै यस वर्षका महानपर्व सकिने छन् । करिब एक महिना जति लामो समय मानिसहरु दुख, पीर, मर्काहरु विर्सिएर चाडपर्व मनाउनमै व्यस्त रहे । अब सबै आ–आफ्नो कार्यस्थलतर्फ फर्किन थालेका छन् । चाडपर्वले दुख भुलाइदिए पनि त्यो केही छिनलाई मात्र हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि अझै पनि  आम जनाता निराशै निराशमा जीवन जिउन  बाध्य छन् । 

राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । संघीय शासन प्रणाली आएपछि नेताहरूको चरित्र र आचरणमा सुधार आई विशुद्ध समाजसेवामा आफुलाई समर्पित गराउन्छन् भन्ने विश्वास जनतामा थियो । तर, जनताका यी सबै आशा र विश्वासलाई राजनीतिक नेतृत्वले लगातार कुठाराघात गर्दै आइरहेका छन् । जसका कारण राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ । आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको विषयलाई राजनीतिक दल र नेताहरूले कहिल्यै पनि प्राथमिकतामा राख्न सकेनन् । आफ्नै स्वार्थ सेक्ने, स्वार्थ र अवसरका लागि जस्तासुकै हर्कत गर्न पनि पछि नपर्ने प्रवृत्तिले नेपालको राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ । अब जनतामा रहेको व्याप्त निराशालाई चिर्न राजनीतिक दल र सरकार सक्रिय भएर लाग्न ढिलाई गर्नु हुँदैन ।

जनतामा आशा जगाउन पनि अहिलेको सरकारका मन्त्रीहरु तथा कर्मचारीतन्त्रले अहोरात्र नै काममा खट्नुको विकल्प छैन । अन्यथा सरकारको असफलतासँगै प्रमुख राजनीतिक दलहरुसमेत पतनको मार्गमा जाने निश्चित छ । यो सरकारलाई काम गर्न सकेनौ भन्ने छुट किमार्थ पनि छैन । केपी ओली नेतृत्वको सरकारले सय दिनमा लक्ष्य लिएका मध्ये ७० प्रतिशत काम सम्पन्न भएको दाबी गरे पनि सरकारको प्रभावकारिता जुनरुपमा देखिनुपथ्र्यो त्यो रुपमा देखिन नसकेको साँचो हो । सरकारका केही अपवादबाहेक धेरै मन्त्रीहरु पुरानै सरकारको जस्तै यथास्थितिवादी चरित्रका देखिएका छन् । केही अपवादलाई छोडेर मन्त्रीहरु आफ्नो जिम्मेवारी अनुसारको बिजनेसलाई जनताको पक्षमा लैजानभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्न लागिरहेका छन् । यो अत्यन्त दुखको कुरा हो । देशका ठूला राजनीतिक दलहरु एकै ठाउँ उभिएका बेला जनताको पक्षमा काम गर्ने ठूलो अवसर पनि छ । यसर्थ  जनतालाई  आशा जगाउने गरी काम गर्ने दिशामा अहिले सरकार र राजनीतिक दलहरु गम्भीर भएर लाग्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update