देशभर डेंगी संक्रमण तीव्र रुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैली सकेको छ । संक्रमण अब कम होला भन्ने बेलामा थप बढ्दै जानु दुखद् हो । सरकारले नियन्त्रणमा चासो नदिदा संक्रमण दर बढ्दै जानु विडम्वनाको कुरा हो ।
विगतमा डेंगीकै कारण मानिसहरूको ज्यान गएकाले अहिले फैलिरहेको संक्रमणलाई सरकार र नागरिक दुवैले चिन्ताका रूपमा लिनुपर्छ । यसको रोकथाम र नियन्त्रणका निम्ति हर उपाय अपनाउनुपर्छ । संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिने गरेका छन् । चिकित्सकहरूका अनुसार आँखाका गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुने जस्ता समस्या पनि देखिन सक्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नु हुँदैन, अविलम्ब स्वास्थ्य संस्था पुगेर परीक्षण गराउनुपर्छ । यो रोगको उपचार सम्भव छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह पुर्याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ । डेंगी भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । प्रायः दिउँसो टोक्ने यी लामखुट्टेले नै चिकनगुनियाँ, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्छ । घाम उदाएको २ घण्टादेखि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडिसम्म यो लामखुट्टे बढी सक्रिय हुन्छ । त्यसैले उक्त अवधिमा बढी सतर्कता अपनाउनुपर्छ । संक्रमणबाट बच्ने एउटै उपाय, यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । यसर्थ डेंगी संक्रमण नियन्त्रणका लागि सरकार र आम नागरिकले सतर्कता अपनाउन जरुरी छ ।