Shittalpati
विपत्बाट बच्न सतर्कता

देभर निरन्तर परेको वर्षाले ठाउँ–ठाउँमा वितण्ड मच्चाएको छ । कतै पहिरोले जनधनको क्षति भएको छ भने कतै बाढीले क्षति पुर्‍याएको छ । सम्भावित जोखिमको आंकलन गरेर सुरक्षित स्थानमा जान नसक्दा मानविय क्षति समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा कायममै रहेको बताएको छ । विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम अझै रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । यसको मतलब आगामी दिनमा थप उच्च सर्तकता अपनाउन सकियो भने कुनै पनि क्षति व्यहोर्नु पर्ने छैन् ।

पहाड र नदी किनराका तथा अन्य जोखिमपूर्ण स्थानका बासिन्दा नै यो जोखिमबाट बढी प्रभावित हुने गरेको पाइन्छ । नदीको नियमित रूपमा मापन गरी त्यसको जानकारी गराई उपल्लो तटिय क्षेत्रमा मापन गरी तल्लो तटिय क्षेत्रमा पूर्वसूचना पुर्‍याएर धेरै जनधनको क्षतिलाई रोक्न सकिन्छ । यसै गरी मौसम पूर्वनुमानलाई चुस्त र दुरुस्त बनाइ भारी मात्रामा हुन सक्ने वर्षा तथा त्यसबाट सम्भावित पहिरो तथा बाढीबाट हुने क्षति कम गर्न सकिन्छ । चट्याङलाई पनि नियमित अनुगमन गरी धेरै चट्याङ पर्न सक्ने स्थानमा सुरक्षित रहन सक्ने उपायहरू अवलम्बन गर्नु पर्दछ । त्यसको साथसाथै सामुदायिक तथा सबै क्षेत्रमा विपतसम्बन्धी जानकारी र बच्ने तरिकालाई यथासम्भव सचेतना जानकारी हुनु पर्दछ । विपद् बाजा बजाएर आउँदैन । आइपरेमा के–कस्तो तयारी गर्ने भन्ने विषयमा पूर्वतयारी हुनुपर्छ । तर नेपालमा आइपरेपछि मात्र हारगुहार गर्ने चलन छ, जसले गर्दा ठूलो क्षति भोग्नुपर्ने अवस्था छ । पहिरो बाढीमा परेर मानविय क्षति मात्र भएको छैन, विद्युत् उत्पादन केन्द्रहरू बन्द भएका छन् भने खानेपानीका मुहानहरू पुरिन पुगेका छन् । बाटाहरू अबरुद्ध छन् र यात्रुहरू अलपत्र पर्नुपरेको छ । यस्तो अवस्थामा सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ । अहिलेको अवस्थामा जोखिमपूर्ण यात्रा गर्नु र त्यस्तो स्थानमा बस्नु पनि हुँदैन । बाढीपहिरोमा बहादुरी देखाएर नजिक जाने काम पनि गर्नु हुँदैन । यसर्थ वर्षा अझै कायम रहेकाले विपत्बाट बच्न उच्च सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update