Shittalpati
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक  

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ ।  

बैठकले नेपाल पत्रकार महासंघले ‘सार्वजनिक’ गरेको सदस्यता शुद्धिकरण सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै  महासंघले बनाएको १५ बुँदे शुद्धीकरण मापदण्डका आधारमा  सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न माग गरेको छ । प्रेस चौतारी नेकपा एमालेको शुभेच्छुक संस्था भएकाले पार्टीले गरेका सकारात्मक अभियानलाई प्रचार–प्रसार गरी जनमासमा लैजाने निर्णय पनि गरेको छ । उसले पाल्पाको पूूर्वखोलामा ढोलिमारा क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएकाले स्थानीय कला संस्कृति, रहन सहन, भेष भुषा, अतिथी सत्कारको प्रचार–प्रसार गर्दै ग्रामिण पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यस्ता उदयमान पर्यटकीय क्षेत्रमाहरुमा तीन वटै सरकारबाट प्रयाप्त लगानी गर्नुपर्नेमा बैठकले जोड दिएको छ । एमालेले शुरु गरेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अभियानबाट मध्यपहाडी क्षेत्रका जनताको भावना जान्ने सुन्ने कार्यक्रम निकै सफल भएको चौतारी पाल्पाले जनाएको छ  ।

घुम्ती बैंठकबाट संगठनलाई चुस्त दुस्त बनाउन सहयोग पुगेको, स्थानीय स्तरमा भएका गतिविधी प्रचार–प्रसारमा सहयोग पुगेको र आगामी दिनमा पनि घुम्ति बैठकलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । बैठकमा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले जनतालाई सहि सूचना प्रवाह गर्ने काम पत्रकारहरुको भएकाले वर्तमान सरकार भ्रष्टचार, कमिसन, सुनकाण्डमा जोडिएको जनताको भावना विपरित काम गरेकाले भण्डाफोर गर्नुपर्ने बताए ।  उनले पूूर्वखोलाको जल्पा पर्यटकीय हिसाबले धेरै सम्भावनायुक्त क्षेत्र रहेकाले यसको प्रचार–प्रसार गर्न पत्रकारहरुलाई आग्रह गर्दै पर्यटकीय गन्तव्यको रुपमा परिचित चुलीडाँडा, ढोलीमारा सामुदायिक होमस्टे, यहाँ उत्पादन हुने अम्रिसो र किवि खेती, यहाँका लोकसाँस्कृतिक झाँकि, करुवा र घाटु नाच, पञ्चेबाजा  लगायत यस क्षेत्रको मौलिक सँस्कृतिको प्रचार–प्रसार गर्न आग्रह गरे ।

 बैंठकमा लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले जनताका दुःख समस्या, ग्रामीण क्षेत्रको जनजिवनको पत्रकारहरुले निरन्तर कलम चलाउनु पर्नेमा जोड दिए । बैठकमा  प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज कमलराज तिमल्सिना, गुल्मी इन्चार्ज मिलन बिश्वकर्मा, पत्रकार दलबहादुर गुरुङ लगातले  प्रेस चौतारी पाल्पाले गरेका गतिविधीहरुको चर्चा गरेका थिए । वडा अध्यक्ष निर बहादुर सारु,गाउँपालिकाका सूचना अधिकारी मोहन ढकाल लगायतले सदरमुकाम छोडी पर्यटकीय स्टल ढोलिमारामा आई बैठक बसी यस क्षेत्रको प्रचार–प्रसार गरेकोमा खुसी व्यक्त गरे ।  चौतारी जिल्ला शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता,उपाध्यक्ष बन्दना पोखरेलको स्वागत,  सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update