पाल्पा, सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ । उसले आइतबार कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
तरुण दलले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाउँदै खुकुरी प्रहार गर्नेलाई तत्काल कारवाही गर्न गृहमन्त्री समक्ष माग गरेको छ । उसले भनेको छ ‘नेपाल तरुण दलका पूर्व अध्यक्ष, पूर्व मन्त्री, काँग्रेसका सह– महामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार गरी घाइते बनाईएको घटनाले तरुण दल पाल्पाको गम्भीर ध्यान आकृष्ट गरेको छ । नेपाल सरकारको केन्द्रीय प्रशासन सिंहदरबारको आँगनमा र प्रहरी कार्यालय भृकुटीमण्डपको ढोकामा दिनदहाडै खुलेआम रुपले खुकुरी बोकेर लोकतन्त्रका होनहार योद्धा, लोकतन्त्रवादी नेपाली तरुणहरुका आस्था र विश्वासका केन्द्र माथि भएको उक्त अक्षम्य र जघन्य अपराधको नेपाल तरुण दल पाल्पा घोर निन्दा र भत्सना गर्दछ ।’
लोकतन्त्र विरोधी तत्वहरुबाट आक्रमण हुँदा सरकारी संयन्त्र मुकदर्शक बन्नु दुखद् भएको तरुण दलका जिल्ला सभापति मजेरसिंह केशीले बताए । उनले जुनसुकै रुप र आवरणबाट आक्रमण भएको भए पनि यसको यथार्थ बाहिर ल्याई अपराधीलाई हदै सम्मको कानुनी कारवाही गर्न सरकार समक्ष माग गरे ।
नेपाली जनताको हक अधिकारको लागि लडाई लड्ने लोकतन्त्रका पहरेदार नेताहरु माथि दुःख दिने, फितलो प्रशासन चलाएर शान्ति, सुरक्षा र अमनचयनमा विश्वासनिय वातावरण समाप्त पार्ने र तस्करहरुको संरक्षण गर्ने काम सरकारबाट भएको तरुण दलको आरोप छ । सरकार यस्ता विषयमा गम्भीर नबने आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने तरुण दलले सरकारलाई चेतावनी दिएको छ । ‘जनताको सविधान बमोजिम शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारको लागि तरुण दल आन्दोलनको आँधीबेहरी सृष्टि गर्न बाध्य हुने छ ’ सभापति मेजर सिंह केसी र सचिव गोपाल गैरेद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।