पाल्पा, नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई आज विहान जोर्तेमा भएको स्कार्पियो दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।
अस्पतालमा घाइतेहरुलाई भेटेर उनले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । भट्टराईले उपचाररत घाइतेहरुको सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने र समन्वयकारी भूमिका खेल्ने बताए ।
बुधबार विहान रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा ढुंगासहितको सुख्खा पहिरोले स्कार्पियो च्यापिदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिएको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको नेता भट्टराईले बताए ।