मगर समुदायले आज भूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ । यसलाई मगर जातिले पर्वकै रुपमा मनाउने गर्दछन् । यो उनीहरुको महत्वपूर्ण पर्व मध्ये एक हो । ठाउँ विशेष अनुसार भूमिको पूूजा गर्ने चलन छ । पुर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।
हुन त यो पर्व असार १ गतेदेखि नै प्रारम्भ भए पनि आजको दिनलाई विशेष मान्ने गरिन्छ । भूमे पूजाको सम्बन्ध कृषि र बादलसँग रहेको छ । जेठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याई खेत, खरियानमा भूमे पूजा गरिन्छ । लेक अर्थात् बादलहरू रहने उच्च भूमिबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । यस वर्ष देशभरी निकै चर्को गर्मी र खडेरी बढ्दा भ्यागुताको बिहेदेखि अन्य थुप्रै विधिहरू गरेर बर्खाको आह्वान गरिरहेको यस अवस्थामा भूमे पुजाको महत्व झन् बढेको छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न र खेतीपाती राम्रो होस् भन्नका लागि भूमिको पूूजाले महत्व राख्दछ । सनातन दर्शनमा भूमिलाई गौ रूप समान मानिन्छ । त्यस कारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुल देवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ । भूमिको पूजा गरेमा वर्षभरि कुनै पनि बिपत्ती नआउने विश्वास गरिन्छ । यो पर्वबाट भावनात्मक एकता कायम गरी सामूहिक सोचको विकास गर्न समेत मत्वपूर्ण भूमिका खेल्दछ ।