Shittalpati
स्वस्थ रहन योग गरौं

पछिल्लो समय योग भन्ने शब्द निकै प्रचलनमा आएको छ । यसको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ ।

शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति हो । मानिसको व्यवस्त जीवन शैलीसँगै अहिले योगमा जोडीनेहरु बढ्दै गएका छन् । यो आफैमा सकरात्मक हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो जस्तै बन्न पुुगेको छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ । मनलाई सकारात्मक बनाउन सक्नुु नै स्वस्थ रहनुु हो । अन्य व्यायामको तुलनामा योगले व्यक्तिको मानसिक स्वास्थ्यमा निकै प्रभाव पार्ने गर्छ । योगका कारण दिमागमा रासायनिक परिवर्तन हुन्छ । योग गर्दा दिमागको कोशिकामा अवरोध पु¥याउने थाल्मोसदेखि अमिनोब्युट्रिक एसिडजस्ता तत्व बाहिर निकाल्न मद्दत गर्छ । योग अभ्यासले दिमाग शान्त राख्न, मुड परिवर्तन गर्न र एन्टी एन्जाइटीको भूमिका खेल्ने भएकाले स्वस्थ जीवनका लागि योग अत्यन्त राम्रो मानिन्छ । 

अहिले त यसको महत्व बुझेपछि विश्व भर नै योग दिवस मनाउने गरिएको छ । सन् २०१५ बाट हरेक वर्षको जुन २१ मा यो दिवस मनाउने गरिएको हो । बुधबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइएको छ । योगप्रतिको आकर्षण थप शक्तिशाली हुनुमा सामान्य मान्छेदेखि विशिष्टहरुसम्मले त्यसलाई प्रयोग र अनुसरण गरिरहेको परिप्रेक्ष्यले पुष्टि गरिरहेको छ । स्वस्थ शरीर नै कुनै पनि व्यक्तिका निम्ति ठूलो सम्पत्ति हो । शरीरलाई स्वस्थ बनाउने भन्दै जथाभावी औषधिको प्रयोगले झन् रोग थपिँदै गएको सर्वविदितै छ । उपचारका नाममा अनेक प्रकारले दोहन गर्ने संस्कृतिसमेत हालका दिनमा बढ्दै गएको अवस्थामा शरीर र मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त अवस्थामा राख्न योगको सर्वाधिकरुपमा प्रयोग भैरहेको पक्षलाई स्वाभाविक रुपमा लिइनुपर्छ । अहिलेको व्यस्त समयमा केही भए पनि योगाभ्यासलाई समय दिने हो भने त्यसले दिनभरको थकानसँगै कामको बोझमा राहतसमेत प्रदान गर्दछ । रोगबाटमात्रै नभई अनेक थरीका विकृति र विसंगतिबाट बच्न पनि कम्तीमा पनि प्रत्येक दिन योग गर्नमा एक घण्टा समय दिन सकियो भने त्यसले दिने चमत्कार अदभुत प्रकारको हुनेछ । यसर्थ शारिरीक र मानसिक रपमा स्वस्थ रहनका लागि नियमित योग गरौँ र त्यसबाट लाभ उठाऔँ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update