मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक धेरै छिटो थला पर्ने अवस्था देखिएको छ । तीन वटै सरकारका नीति, कार्यक्रम, वजेट र विकासका खाँकाहरु अगाडि आएका देखिन्छन् । तर केवल विरालो बाधेर श्राद्ध गर्ने प्रचलनकै लागि मात्र यी सबै काम भएको अनुभूति बाहेक केही पनि भएको छैन । युवाहरुमा बौद्धिकता थपिएको छ । वृद्धवृद्धाको आयु थपिएको छ । तर देशमा मौलाएको भ्रष्टाचार र राजनैतिक बेइमानीका खाँडलहरु पुरिन सकेनन् । समयसापेक्ष नागरिकका आवश्यकताहरुले जुनरुपमा स्थान पाउनुपर्ने हुन् पाएनन् । पुराना र मुलुक परिवर्तनका एजेण्डा बोकेका दलहरु बीच समस्या देखिन थाले । एक आपसमा मेलमिलाप भन्दा पनि गैरन्यायिक किसिमबाट देशलाई संसारभर बद्नाम गर्ने खालका गतिविधिहरु बढेर गएपछि हरेक युवा पुस्तामा पुराना दलहरु प्रतिको सम्मोहमा कमी आएको देखिन्छ ।
यी र यस्तै यस्तै विषयका सबैको चासोमा गठवन्धनको सरकार किन मौन बसिरहेको छ । मौनताले दिने परिणामलाई फेर्ने र हेर्ने बेला पनि गुमिसकेको अवस्थामा मौनता साधेर बस्नु आफैमा निर्लज्जता बाहेक केही पनि हुन सक्दैन । राजनैतिक विचारका आधारमा ठूलादेखि साना सम्मका अपराधिक क्रियाकलाप प्रति सबैको ध्यान जानुपर्ने आवश्यकता छ अहिले । हरेक पटक बाचा गरिन्छ, प्रतिवद्धता व्यक्त हुने गर्छन् तर समस्याको सही पहिचान गरेर समाधानका उपाय किन खोजिदैन ? यी र यस्तै धेरै प्रश्नहरु अहिले नेपाली आकाशमा मड्राई रहेका छन् । त्यसकारण पुराना दलहरुको अबको रवैयामा आमूल परिवर्तनको खाँचो छ ।