धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन । उनले श्रमदानबाटै काकुल बनेको धरानलाई ९९ दिनमा पानी दिन सफल भए । घना जंगलदेखि धरानमा पानी पुर्याउन त्यति सहज अवश्य पनि थिएन, तर मेयर हर्कको पहल र जनताको श्रमदानले कठिन कामले सफलता प्राप्त भएको छ । जुन आफैमा नमुना कामसमेत बन्न गएको छ । चुनावको बेला हर्कको बाचा थियो, ‘धराने जनतालाई निःशुल्क खानेपानी पिलाउँछुु ।’ उनको वचनलाई जनताले पत्याए र धरानको मेयरमा समेत जिताए । त्यो जितलाई उनले जनताको जितका रुपमा लिएर र पानीका मुहान खोज्दै हिँडे । जनतालाई पानीको तिर्खा मेटाउन उनी आफैं ढुंगा र पानीका पाइप समेत बोके । उनको अभियानमा जनता पनि जोडिए । स्वदेशमा हुनेले श्रमदान गरे, विदेशमा हुनेले आर्थिक सहयोग गरे । जनतासँग जुन वाचा गरेका थिए त्यो अहिले उनले पूरा गरेर देखाएका छन् ।
बोलेको कुरा पूरा गरेको भनेर अहिले उनको प्रशंसा र सम्मानमा सामाजिक सञ्जाल रङ्गिन पुगेको छ । बाचा अनुसारको काम फत्ते गर्ने जनप्रतिनिधिका रूपमा उनी चर्चामा छन् । यस क्रममा उनले केही राजनीतिक दलका नेता तथा कार्यकर्ताको आलोचना सहे । तर, लक्ष्य पूरा गर्न निरन्तर लागिपरे । अन्ततः ४० किलोमिटर टाढाको दूरीबाट पानी ल्याएर उनले आफ्नो कबोल गरेको वाचा पूरा गरे । कुनै काम गर्न सरकारी बजेट नै नभएको गुनासो गर्ने जनप्रतिनिधिहरुका लागि मेयर साम्पाङ उदाहरणीय बनेका छन् । कुनै विकास निर्माणको लागि पैसा नै सबथोक हो भन्ने सोचलाई उनले परिवर्तन गरेका छन् । चुनावका बेला उम्मेदवारहरूले अनेकथरी वाचा गर्छन् । विजयपश्चात् अधिकांश खोला तर्यो, लौरी बिस्र्यो झैं गर्छन् । विगतका प्रतिबद्धता चटक्कै भुल्छन् । जनप्रतिनिधि जीवनशैली फेरिन्छ । जनताको समस्या ज्यूँका त्युँ हुन्छ । काम गरेर सानो नहुने हर्कजस्ता मेयर धेरैका लागि प्रेरणासमेत बन्न पुगेका छन् । यसर्थ जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरुले मेयर हर्कबाट सिको गर्न सकुन् ।