Shittalpati
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं

नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वदेशमा रोजगारका अवसरहरु नदेखेपछि युवाहरु परिवार पाल्नकै लागि विदेशीने गरेका हुन् । पछिल्लो समय त झन् अध्ययन गर्न भन्दै धेरै युवाहरु विदेशीएका छन् । मुलुकमा रोजगारका अवसर नपाएर विदेशीनु नेपालीको बाध्यता हो । यसो भन्दै गर्दा विदेश पलायन हुनु र  उर्जावान समय त्यत्तै खार्चिनु चाहि राम्रो होइन् । विदेशमा रहँदा धेरै कुराको ज्ञान, सीप र अनुभव हुन्छ । त्यो ज्ञान, सीप र अनुभवलाई स्वदेशमा आएर खर्चिन सकियो भने राम्रो हुन्छ । त्यसले परिवारलाई मात्र हैन देशलाई नै ठूलो टेवा पुग्छ । यो कुरा विदेशीने नेपालीहरुले बुझ्न आवश्यक छ । हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदारमात्रै भइन्छ तर स्वदेशमै पसिना खर्चिए आफै मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने मान्यता अझै पनि हावी छ । यो मान्यतालाई चिर्नका लागि सरकारले समेत रोजगारका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ । विदेशमा सिकेको ज्ञान, सीपलाई स्वदेशमै उपयोग गर्न सकियो भने पनि अवसर धेरै छन् यहाँ । मात्र इच्छा शक्ति हुनुपर्छ । विदेशी भूमिका जे सिकिएको छ त्यो आफ्नै ठाउँमा प्रयोग गर्नुपर्छ । कृषि, पर्यटन, उद्योगज जुन क्षेत्रको ज्ञान सीप हासिल गरिएको छ । त्यही सीपलाई प्रयोग गर्ने हो भने मनग्य आम्दानी गर्नुको साथै एक ÷दुई जनाले रोजगार समेत पाउँछन् ।

गाउँ–गाउँका युवाहरु खाडी मुलुक र भारतीय सहरहरुमा आफ्नो पसिना बगाउँदै गर्दा नेपालमा भने बर्सेनि सुन फल्ने फाँटहरु बाँझो पल्टिँदै गएका छन् । विदेशमा थुप्रै हण्डर र ठक्कर पाएर स्वदेशमै दुःख गर्न तम्सिएका युवाले गरेको प्रगति हेर्ने हो भने पनि कुनै पनि युवा निराश भएर विदेश जानु पर्दैन । आफ्नो सीप र क्षमता अनुसार स्वदेशमा रोजगार पाउन नसकेको तीतो यथार्थ भएपनि विदेश पलायन हुनु नै अन्तिम विकल्प होइन । एसइई उत्तीर्ण गरेका युवा प्लस टु पनि नपढ्दै विदेशको सपना देख्न थाल्ने मानसिकता बदल्नुपर्छ । उच्च शिक्षा सकेर प्रमाणपत्र हातमा लिएर बसेका युवाहरूको सपना देशले पूरा गर्नुपर्छ । अब युवा शक्तिको सोंच बदलिनुपर्छ । विदेश जानै हुँदैन भन्ने होइन, तर केही समय बसेर त्यहाँ सिकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गरौं भन्ने मात्र हो । यसर्थ यसतर्फ विदेशीने सबै युवाहरुले सोंच बदलेर स्वदेशमै ज्ञान, सीपको उपयोग गरौं । यहीबाटै हामी समृद्ध बन्न सक्छौँ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update