पछिल्लो समय तानसेन निकै सुनशसान बन्दै गएको छ । शिक्षा र पर्यटनको नामले परिचित तानसेन यतिबेला गुमनाम जस्तै भएको छ । कुनै बेला उच्च शिक्षा अध्ययन गर्न तानसेन आउने विद्यार्थीहरुले कोठा खोज्दा नपाउने मात्र होइन, शहरको मुख्य चोकमा व्यापारीले व्यापारका लागि सटर समेत पाउन मुस्किल हुन्थ्यो । तर संघीय संरचना बनेसँगै केही सुस्ताएको तानसेन कोभिडपछि भने पूर्ण रुपमा नै सुनशान बनेको छ ।
तानसेनको मुख्य व्यापारी केन्द्रको रुपमा रहेको तेस्रो सडक समेत यति बेला सुनशान छ । आर्थिक मन्दीका कारण चौपटमा परेको तानसेनको व्यापार तानसेन नगरपालिकाले दरबार सौन्दर्यकरण गर्ने भन्दै दरबार परिसरका ५७ व्यवसायिक सटर भत्काएपछि भने थप सुनशासन बन्यो । यसले बजारलाई सुनशान मात्र बनाएको छैन कयौंको रोजीरोटी समेत खोसेको छ । व्यापार व्यवसाय गरेर परिवार पाल्दै आएका यहाँका अधिकांश व्यापारी पलायन भएका छन् । सटर भत्काउन हतार गरेको नगर सरकारले अहिले कुनै पनि काम अगाडि बढाएको छैन । तानसेनको सौन्दर्यकरणका लागि दरबार परिसरका संरचना हटाउनु राम्रै भए पनि त्यसको दीर्घकालीन असर प्रति भने नगर सरकारले सोच्नै पथ्यो । तानसेन आफैमा भौगोलिक हिसावले मिलेको छैन् । यहाँको भौगोलिक संरचना अत्यन्त साँधुरो छ । त्यसैले पनि यहाँको विकास र विस्तार गर्दा सोही अनुसारको योजना ल्याउनुपर्छ । तर नगर सरकारले त्यो कुरा नसोच्दा तानसेन झन् भन्दा झन सुुनशासन बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । यहाँको व्यापार मात्र होइन, तानसेनका अधिकांस घरका कोठाहरुमा धमिराले घर बनाउन लागेका छन् । ठूलो लगानी लगाएर बनाइएका घरहरु समेत कोठा भाडामा बस्ने नभएपछि त्यत्तिकै खाली छन् ।
बैंकको चर्को ब्याज र क्रयशक्तिको अभाव जस्ता कारण अहिले कतिपय व्यवसायी पसलको भाडा नै तिर्न नसक्ने अवस्थामा पुगेर बन्द गर्न विवश छन् । कुनै पनि व्यक्तिलाई उद्यमशील हुन प्रेरित गर्ने सरकारले व्यापारका शीलशीलामा उसले सामना गरेका चुनौती पार गराउनमा पनि सहयोगी भूमिका खेल्न सक्नुपर्छ । कुनै पनि सहरमा भटाभट सटरहरू खाली हुनु र व्यापारीहरु पलायन हुँदै जानु आफैंमा एउटा गम्भीर समस्या हो । व्यापार कुनै पनि सहरका लागि अत्यावश्यकीय आवश्यकता मानिन्छ । यदि व्यापार शून्य भयो भने त्यो सहर सहर जस्तो हुँदैन । आफ्नो क्षेत्रमा स्थापित सहरको अस्तित्व जोगाउन स्थानीय सरकारको पनि भूमिका सकारात्मक हुन जरुरी छ । चुनावी घोषणापत्रमा आर्थिक समृद्धि भन्ने शब्दलाई प्राथमिकताका साथ राख्नेले पनि अब आफ्नो क्षेत्रको आर्थिक गतिविधि बढाउन केही नीतिगत र व्यावहारिक काम गर्नैपर्छ । जुन निर्णयले सुस्ताएको बजार गुलजार बनोस् ।