Shittalpati
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण

गुल्मी, नेपाली काँग्रेस गुल्मीले पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । काँग्रेसले पार्टीका भातृ संगठन, शुुभेच्छुक संस्था, स्थानीय, वडातहमा रहेका पार्टी प्रतिनिधिहरुलाई शुुक्रबारदेखि दुुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।

नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीको आयोजनामा प्रशिक्षण सञ्चालन गरिएको प्रशिक्षण शाखा प्रमुख अनन्तराम पौड्यालले जानकारी दिए ।  बदलिदो परिस्थिति अनुसार पार्टीलाई आमनागरिक समक्ष प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई प्रशिक्षणको आवश्यकता रहेको उल्लेख गर्दै पौड्यालले पार्टीलाई रुपान्तरण र नयाँ चुनौतीको सामना गर्न प्रशिक्षण सञ्चालन गरिएको बताए ।
वडा तहदेखि नै पार्टीलाई बलियो बनाएर लैजान प्रशिक्षणले महत्वपूर्ण टेवा पुुग्ने पार्टी सभापति खिलध्वज पन्थीले विश्वास व्यक्त गरे । उनले भने ‘पार्टी संगठनलाई चलायमान र सशक्त क्रियाशील बनाउनुु अहिलेको आवश्यकता हो ,त्यो आवश्यकतालाई महसुुस गरी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकताका साथ काँग्रेसले अगाडि बढाई रहेको छ ।’ पार्टीको वैचारिक रुपमा नेता तथा कार्यकर्तालाई बलियो बनाउन सकियो भने पार्टी बलियो हुने सभापति पन्थीले बताए । उनले भने ‘पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्न जरुरी छ ।’ पार्टीको सुन्दर भविष्यका लागि सबै एकजुट भई लाग्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

पार्टीलाई टोलदेखि नै संगठित गराउँदै बेला बेलामा प्रशिक्षण कार्यक्रम गरिदै आइएको पार्टी सचिव जगदीश भट्टराईले बताए । उनले भने,–‘टोलदेखि नै पार्टीलाई संगठित गरी संगठन बलियो बनाउन तालिम, प्रशिक्षण जस्ता गतिविधिलाई उत्साजनक रुपमा अगाडि बढाएका छौं ।’ क्षेत्रीय सभापति पारिश्वर ढकालले प्रशिक्षणबाट सिकेका कुराहरु आमनागरिक माझ लैजान आग्रह गरे । प्रशिक्षणले नेता तथा कार्यकर्तामा आचार र व्यवहारमा राम्रो बनाउन सहयोग गर्ने उनले बताए । प्रशिक्षार्थीलाई संगठन सञ्चार, नेपाली काँग्रेसको सिद्धान्त र आदर्श, नेपाली काँग्रेस हिजो र आज, युवा र काँग्रेस अनि परिवार, उद्घोषण र प्रस्तुति, योजना निर्माण र जनअपेक्षाका आधार लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।  प्रशिक्षणमा स्थानीय तह, काँग्रेसको जिल्ला प्रशिक्षण शाखा, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपमहासचिव बमबहादुर रानाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update