पछिल्लो केही समय यता नेपालमा कोरोना महामारी मत्थर भएको छ । महामारी कम भएपछि सबै क्षेत्र निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर पर्यटन क्षेत्र भने अहिले पनि पुरानो अवस्थामा फर्किन सकेको छैन । कोरोना महामारी संसारभर कम भइरहेको र अधिकांशले खोप लगाए पनि पर्यटन क्षेत्र तंग्रिन नसक्नु दुखद् हो । देशको आयको ठूलो हिस्सा पर्यटन क्षेत्रबाट हुन्छ । तर यो क्षेत्र नै माथि उठ्न नसकेपछि देशको अर्थतन्त्रमै ठूलो समस्या उत्पन्न गराएको छ । ठूलो लगानी गरेका विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका होटल व्यवसायी झन बढी मारमा परेको छन् । साना र मझौला होटल व्यवसायी केही तंग्रिए पनि ठूला लगानीमा सञ्चालन गरिएका होटल सुनसान जस्तै छन् । थला परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । सरकारले पर्यटन क्षेत्रलाई माथि उकास्न पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन गर्न जरुरी छ । तर सरकारले त्यसतर्फ खासै ध्यान दिएको देखिदैन ।
अहिलेको अवस्थामा स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटन भिर्याउने दिशामा आवश्यक कदम चाल्नुपर्दछ । गुल्मीको रेसुङ्गा नगरपालिकाले पर्यटक भिœयाउन ‘जाउँ हिड रेसुङ्गा’ भन्ने अभियान नै चलाएको छ । यो निकै नै प्रशसंनिय छ । यस्तो काम अन्य सरकारले पनि गर्नुपर्दछ । अहिले त पर्यटन व्यवसायीको मनोवल बलियो बनाउन सरकारले साथ दिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । सरकारले पर्यटन व्यवसायलाई सहयोग पुग्नेगरी पर्यटन व्यवसायी र नेपाल वायु सेवा निगमसँग समन्वय गरेर विशेष कार्यक्रम तर्जुमा गर्न अग्रसरता लिनुपर्छ । त्यतिमात्र गर्न सके पनि पर्यटन व्यवसायी उत्साहित हुनेछन् । तसर्थ पर्यटन व्यवसायीलाई उत्साहित बनाएर धेरै भन्दा धेरै पर्यटकहरु भिर्याउने दिशामा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।