Shittalpati
सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ

आइतबार साँझ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा परी ५ जनाको निधन भयो भने १० जना घाइते छन् । उक्त दुर्घटनामा अधिकांस बालबालिका रहेका छन् । यही क्षेत्रमा गत पुसमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको थियो । त्यसको ५ महिनापछि पुनः कहाली लाग्दो जिप दुर्घटना भयो । हरेक मानिसको मृत्यु शाश्वत् र अवश्यंभावी छ । तर, पटक–पटक यस्ता अकल्पनीय दुर्घटना दोहोरिदा हाम्रा राजमार्ग र सडकहरु मृत्युमार्गकै रुपमा स्थापित बन्दै गइरहेका छन् । संख्याका हिसाबले दुर्घटनालाई सानो–ठूलो मानिए पनि कसैको पनि दुर्घटनामा ज्यान जानु विडम्बनाको विषय हो । देशभर हरेक दिनजसो साना–ठूला दुर्घटना भइनै रहन्छन् र अकालमै ज्यान गुमाउनुपर्ने नियति बन्दै गएको छ । गाडी दुर्घटनामा सयौंले ज्यान गुमाउनु परेको छ भने उत्तिकै संख्यामा अंगभंग भएका छन् । नेपालका प्रायः राजमार्ग निकै साँघुरा छन् । त्यसमा पनि आवश्यक सुधार तथा मर्मत नगर्दा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । पहाडी क्षेत्रमा धमाधम खोलिएका कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्तिले दुर्घटना बढ्दै गएका छन् ।

यी र यस्ता दुर्घटना न्यूनीकरणका लागि चालक आफैं सचेत, अनुशासित हुनुका साथै सवारीसाधनको अवस्थासमेत राम्रो हुनुपर्ने देखिन्छ । चालकको अत्यधिक लापरवाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य होइन । सरकारले सडक सम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिम लगायतका विषयमा ध्यान दिनु आवश्यक छ । क्षमताभन्दा बढी यात्रु चढाउने, ओभरलोड, हतारिएर सवारीसाधन चलाउने र सडकको दुरवस्थाका कारण सडक दुर्घटना हुने गरेका छन् । सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय–समयमा धेरै पटक अनेक नीति नियमहरू र प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्दछ तर ती व्यवहारमा कति हदसम्म लागू भए, भएनन् भनेर मूल्याङ्कन सरकारले गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक, पैदल यात्रुबीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटनामा कम हुन सक्दैन । तसर्थ तीनै तहका सरकारले यसतर्फ समयमै ध्यान पुर्‍याउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update