Shittalpati
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही

नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका विषयमा यति बेला समर्थन र विरोधका आवाजहरु सुनिएका छन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै समर्थन र विवादका स्वरहरु गुञ्जिन थालेका हुन् । मुलुक अहिले यही विषयले तातेको छ । विशेषतः तराई मूलका पार्टीहरुले नागरिकता विधेयक प्रमाणीकरणलाई स्वागत गरेका छन् भने प्रमुख प्रतिपक्ष दल एमालेदेखि रास्वपासम्मले त्यसको विरोध गरेका छन् । एकातिर समर्थन र अर्कोतिर विरोध सिर्जना हुनुले विधेयकलाई निकै विवादित बनाइरहेको छ । कसले नागरिकता पाउने ? भन्ने विषयमा विवाद बढेको नभई अघिल्लो संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेको कारणलाई लिएर विवाद बढेको हो । यसो हुनु दुखद् हो । कुरा जे सुुकै भए पनि यथार्थ धरातलमा रहेर हेर्ने हो भने नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणको प्रक्रिया गलत हो तर काम चाही सही नै हो । हो, विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण गराउनुको साटो संसदबाट फेरि पारित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपथ्यो । यसले गलत नजिर बसेको छ । 

भावनामा बहकिएर संविधान, विधि र प्रक्रिया मिचेर विधेयक पारित गर्नु कदापि स्वीकार्य हुन सक्दैन । तर, यसो भन्दै गर्दा हामीले के बिर्सिनु हुँदैन भने कानुन जनताका लागि हुनुपर्छ न कि कानुनका लागि जनता । जुन कुरा सामाजिक न्यायका हिसाबले स्वागतयोग्य छ । विधेयक प्रमाणीकरण भएसँगै योग्य भएर पनि नागरिकताबाट बञ्चित लाखौ पीडितले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता सम्बन्धी नयाँ कानुन नबन्दा लाखौँ पीडितहरू कष्टकर जीवन बिताउन बाध्य थिए । नागरिकता नभएकै कारण उनीहरूले बैंकमा खाता खोल्न, सिम कार्ड झिक्न, उच्च शिक्षाका लागि कलेज भर्ना हुन, जागिर गर्न, सवारी लाइसेन्स लिनेलगायत थुप्रै आधारभूत सेवाबाट बञ्चित थिए । उनीहरूबाट आफ्नो भविष्य निर्धारण गर्ने मतदानको अधिकारसमेत खोसिएको थियो । सबैभन्दा डरलाग्दो कुरा के भने अनागरिक हुनुको पीडा सहनै नसकेर कतिले आत्महत्यासम्मको बाटो रोजेका खबर सार्वजनिक भएका छन् भने कतिले जीवनप्रतिको मोहभंग भएर नैराश्यपूर्ण जीवन व्यतित गरिरहेका छन् । यो विधेयकले यस्ता नागरिकका लागि थोरै भएपनि न्याय पाउने आशा भने जागेको छ । जसरी अनागरिक बनाइएका नागरिकलाई नागरिकता चाहिन्छ, त्यसमा विवाद छैन । तर, त्यो नागरिकता पनि सम्मान र संवैधानिक माध्यमबाटै दिनुपर्छ भन्ने मात्र हो । विरोधमा कतिपय राजनीतिक आग्रह छ र कतिपयमा तर्कका निम्ति तर्क मात्रै छ । यसर्थ सहिलाई सहि र गलतलाई गलत रुपमा व्याख्या गर्ने संस्कृतिको विकास गरौं।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update