रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्ष जंगलमा लाग्ने डढेलोले पाल्पा र गुल्मीका नागरिकलाई पिरोल्ने गर्दछ । विशेष गरी जंगल नजिकैका वस्तीका नागरिकहरु आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरु रातदिन चिन्तामा हुन्छ । वसन्त र ग्रीष्म ऋतु विशेष गरी डढेलो जोखिमको समय हो ।
डढेलोका कारण वर्षभरी भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ । यस वर्ष पनि गर्मी मौसम शुरु हुनासाथ डढेलोेका घटनाहरु बढेका छन् । केही दिन अघि पाल्पाको रामपुर नगरपालिका–९, जब्गादी मधुकोटमा जंगलमा लागेको डढेलो मधुकोट गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् । त्यहाँ जंगलमा लागेको आगो निभाउने क्रममा दुई जना घाइते समेत भएका छन् । डढेलो बस्तीमा पसेपछि उनीहरुले आगो निभाउने प्रयास गरेका थिए । जब्गादी जस्तै जिल्लाका दर्जनौ ठाउँहरुमा यस पटक आगो लागेको छ । अधिकांस डढेलो लागेको जंगल नजिकै वस्ती रहेका छन् । ति वस्तीमा आगो पुुग्ने डरमा स्थानीय छन् ।
हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने तिनाउ मस्यामकी गीता सारु बताउँछिन् । ‘अघिल्लो वर्ष नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्ल बल्ल बस्ती जोगाउन सफल भए पनि पटक पटकको डढेलोले रातमा निन्द्रा नै लाग्दैन्’ उनले भनिन् । अहिले पनि यहाँ आगो लागेको थियो । ‘पहिले छिमेकीको घर जलेको थियो कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ’ उनले भनिन्, ‘के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेन छ ।’ घरमा एक्लै बस्दै आएकी सारु निकै पिरोलिएकी देखिन्थिन् । यस्तै गुल्मी इस्मा गाउँपालिका २ हाडिखोलाकी कमला पच्यालाई पनि हरेक वर्ष नजिकैको जंगलमा आगो लाग्दा निन्द्रा पर्दैन । हरेक वर्ष जसो यहाँको जंगलमा पनि आगो लाग्ने गरेको छ । यसपटक पनि आगो लाग्यो । जंगलमा आगो लागेका कारण अहिले उनलाई न रातमा निन्द्रा लाग्छ नत दिनमा भोक नै । दिनहुँ जस्तो भगवानलाई सम्झिदै बस्नुु परेको उनी बताउँछिन् । यस वर्ष गुल्मीका सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागि सकेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको हो । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
डढेलोबाट कतिपय जंगली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको छ । पाल्पामा पनि ४ दर्जन भन्दा बढी जंगलमा आगो लागिसकेको छ । यहाँका चुरेक्षेत्र ज्यामिरे, बहादुरपुर, दोभान, गोठादी, कोलडाँडा, मस्याम, कचल, रहवास, सत्यवती, बल्ढेङ्गढीका जंगलमा बढी डढेलो लागेको छ ।जिल्लाका दश गाउँपालिकाका ८१ वटा वडाहरु मध्ये २७ वटा वडामा रहेका वन डढेलोको उच्च जोखिमा छन् । ३९ वटा वडा मध्यम र २५ वटा वडा न्यून जोखिम रहेका छन् । जिल्लाका ३३ प्रतिशत वनजंगल डढेलोको अति जोखिम, ३६ प्रतिशत मध्यम र ३१ प्रतिशत जंगल न्यून जोखिम रहेका छन् । यहाँ ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।