कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादवी छहरा गाउँ सरकार धार्मिक पर्यटकीय विकास गर्ने दिशामा जुर्मराएको छ । गाउँपालिकाले धार्मिक विकासका माध्यमबाट पालिकाको आर्थिक समृद्धि हासिल गर्ने गरी अगाडि बढेको छ । गाउँपालिका भित्र थुप्रै धार्मिक सम्पदाहरु रहेका छन् भने केही सम्पदाहरु गाउँ सरकारले निर्माण थालेको छ । यहाँ भएका ऐतिहासिक तथा धार्मिक पर्यटकीय सम्पदाको संरक्षणसँगै ऐतिहासिक क्षेत्रमा धार्मिक सम्पदाहरु निर्माण गर्ने काममा पालिका जुटेको हो । पालिकाले अहिले धार्मिक ऐतिहासिक तथा पुरातात्विक महत्वको पहिचान बोकेको रैनादेवी मन्दिर निर्माणको कार्य थालेको छ ।
रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी गोखुङ्गामा रहेको पश्चिम पाल्पाको धार्मिक आस्थासँग जोडिएको रैनादेवी मन्दिर व्यस्थित नहुँदा पूजाआजा तथा धार्मिक कार्यका लागि कठिनाई भइरहेको जनगुनासो पछि नव निर्वाचित गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधीको टोलीले चालु आर्थिक बर्षमै बजेट विनियोजन गरी मन्दिर निर्माणमा जुटेको हो । मन्दिरको गाउँपालिका अध्यक्ष रुक्मा·त भट्टराई र ३ का वडाध्यक्ष प्रदीप पौडेलले संयुक्त रुपमा पुजापाठ गरेर शिलन्यास गरेका छन् ।
गाउँपालिका अध्यक्ष भट्टराईले गाउँपालिकाको नामाकरण नै रैनादेवी मन्दिरबाटै भएकाले मन्दिरको ऐतिहासिकता, धार्मिकता, पुरातात्विक सम्पदाको जर्गेना गर्दै यस क्षेत्रको मन्दिर आवश्यक भएकाले पालिकाबाटै बजेट विनियोजन गरेर मन्दिर निर्माण शुरु गरेको बताए । पालिकामा आउने पर्यटकहरुले पालिकाको नाम पनि रैनादेवी ?, रैनादेवी कहाँ हो ?, कस्तो ठाउँ छ ?, भनि देवीको दर्शन गर्न, घुम्न आउने पर्यटकहरुका लागि लक्षित गरी मन्दिर निर्माण शुरु गरिएको अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष भट्टराईले पालिका भित्रका प्रत्येक वडाका मठ मन्दिर, देव देवालयहरुलाई व्यस्थित गर्दै, धार्मिक स्थलहरुलाई संरक्षण गर्दै आवश्यकता अनुसार पुनर्निर्माण, जिर्णाेद्धार गर्दै जाने प्रतिवद्धता जनाए । पालिकाले कम्तिमा एक वडा एक विशेष धार्मिक स्थल बनाउने, धार्मिक पर्यटहरु भित्राउने योजना अनुसार सबै वडामा आवश्यक पूर्वाधार निर्माणदेखि पर्यटकहरुलाई चाहिने सुविधा व्यवस्थापनका कामहरु भईरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । बहुबर्षिय योजना अनुसार मन्दिर निर्माणको काम शुरु भएको छ । शिशिर बसन्त जेभी निर्माण कम्पनीले आउँदो असार मसान्त भित्र करीव ५० लाख बराबरको ८० प्रतिशत काम सक्ने गरी डिजाइन स्टिमेट गरेको वडा अध्यक्ष प्रदीप पौडेलले बताए । भुवनपोखरीको सबैभन्दा उच्च भागमा निर्माण हुन लागेको मन्दिर क्षेत्रबाट नेपालका अधिकाश हिमालका दृश्यहरुसँगै गुल्मी, अर्घाखाची, स्याङ्जाका अधिकाशं भुभागहरु हेर्न सकिने भएकाले उक्त स्थानलाई प्राकृतिक भ्यू प्वाइन्टको रुपमा विकास तथा प्रचार–प्रसार गर्नुपर्ने पालिका उपाध्यक्ष युवराज थापाले बताए । रैनादेवीको मुल मन्दिर भने अहिले निर्माणाधिन मन्दिर भन्दा तल जंगलको बिचमा रहेको छ । मुल मन्दिर क्षेत्र परम्परागत रुपमा अहिले पनि सालका ठूला ठूला मुढाहरु ढाकेर राख्ने गरिएको छ । रैनादेवीको ऐतिहासिकतालाई जिवित राख्दै कलात्मक ठूलो मन्दिर निर्माण गर्नुपर्ने आवश्यकता रहेको स्थानीय विशाल दर्लामीले बताए । अहिले पनि पुरानै परम्परालाई निरन्तरता दिएको पुजारीहरुको भनाई रहेको छ । रैनादेवी मन्दिरमा परम्परादेखी नै मगर पुजारी रहँदै आएका छन् ।
बुढापाकाको भनाई अनुसार गाईले दुध नदिएपछि पिछा गर्दै जाँदा जंगलको बिचमा सुनको मौलौमा दिनहँु दुध झार्ने गरेको देखेपछि न्यौपाने बाहुन र छहरी मगरले सुनको मौलो निकाल्न खोजे तर मौलो तल तल दविदै गएपछि कोदालोका पासोले हानी सुनको टुक्रा लैजान खोज्दा रगत आएपछि गोठा भागेका थिए । जंगलमा देवी रोईरहेको मगर जातीले देखेपछि सोही स्थानमा देवीको मन्दिर बनाउने र पुजाआजा गर्ने प्रचलन रहेको थियो । पछि रोइरहेकी देवी भन्दा भन्दै रैनादेवी नाम रहन गएको बुढापाकाहरुको भनाई रहेको पाइन्छ । अझै पनि रैनादेवी मुल मन्दिर क्षेत्रमा बाहुन तथा छहरी मगर प्रवेश गर्न नहँुने मान्यता रहँदै आएको छ ।