केशवराज नेपाल
मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले पनि विविध कार्यक्रमका साथ विश्वभर मनाइरहेका छन् । पेशाले ब्यापारी स्विस नागरिक जाँ हेनरी ड्यूना आफ्नो व्यापारिक कामको शिलशिलामा उत्तरी इटालिको सल्फेरिनो भन्ने ठाउँमा पुगेका थिए । त्यहाँ अस्ट्रिया, फ्रान्स र इटालीका तीन लाख भन्दा बढी सैनिकहरुका बीच भयंकर युद्ध भैरहेको थियो । त्यस युद्धमा चालिस हजार सेनाको मृत्यु भएको थियो भने हजारौं सैनिक घाइते भएका थिए । घाइते सैनिकहरुको कारुणिक अवस्था देखेर उनको हृदय द्रवित हुन पुग्यो ।
मानवीय भावनाको वशीभूत भएर उनले स्थानीय स्वयंसेवकहरुको सहयोग लिएर घाइतेहरुको उपचार र सहयोग गरी कैयौं घाइतेहरुको प्राण रक्षा गरे । त्यहाँबाट फर्केपछि उनले आफ्ना आँखाले देखेको भयंकर युद्वको विभिषिका तथा सिपाइहरुको अकाल मृत्युको कथाको यथार्थ चित्रणका साथै सेनामा रहेको अपर्याप्त उपचार र सेवालाई सहयोग गर्न राष्ट्रियस्तरको संस्थाको स्थापना गर्ने, सेनाको उपचार गर्न स्वयंसेवकलाई तालिम दिने र युद्वभूमिमा उनिहरुलाई तटस्थ राख्ने अनि घाइते तथा विरामीको सुरक्षा गर्न अन्तर्राष्ट्रिय महासन्धिको व्यवस्था गर्नुपर्ने आदि जस्ता महत्वपूर्ण सुझाव समेत भएको ‘सल्फेरिनोको स्मृतिमा’ भन्ने पुस्तक लेखे र सो पुस्तक ई.१८६२मा प्रकाशित गरे । विशुद्ध मानवीय भावनामा आधारित भएर विशेष गरी युद्धमा घाइते भएका र विरामी सैनिकहरुको उपचार, उद्धार, सेवा, सुरक्षा र राहत पुर्याउने उद्देश्यले जाति, धर्म वा कुनै राजनैतिक क्षेत्रबाट तटस्थ रहेको रेडक्रस संस्थाको स्थापना भएको हो । पछि गएर विभिन्न अन्तर्राष्ट्रिय मानवीय कानूनहरुको निर्माणमा पहल गर्दै यसले आफ्नो सेवाको क्षेत्रलाई अझ फराकिलो पार्दै लग्यो । यसैगरी आफ्नो विश्वव्यापी मानवीय सेवाकार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संस्थाले आफ्नो संगठनात्मक स्वरुपमा विकास र विस्तार गर्दै लगेको देखिन्छ । विश्वमा रेडक्रसको स्थापना भै क्रियाशील हुन थालेको सय बर्षपछि अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भयो । २०२० माघ २४ गते सो समितिको अनुरोधमा नेपाल सरकारले जेनेभा लोकसम्मतिमा हस्ताक्षर ग¥यो । नेपाल रेडक्रस सोसाइटीको विधान २०२० लाई आबश्यक संसोधन सहित २०२१ साल असार २८ को साधारण सभाले स्वीकृत गरेपछि २०२१ असोज १६ गते रेडक्रसको अन्तर्राष्ट्रिय समितिले मान्यता प्रदान गरेपछि नेपालमा रेडक्रसको अभियानको थालनी भयो ।
अन्तर्राष्ट्रिय रेडक्रस जस्तै नेपाल रेडक्रसले पनि युद्वमा सेनासँग सम्बन्धित चिकित्सा सेवामा संलग्न भई घाइते सैनिक तथा सबै साधारण जनताको सेवा गर्ने, स्वास्थ्य शिक्षाको प्रचार–प्रसार गर्ने, दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सहायताको व्यवस्था गर्ने, विश्व भातृत्वको भावना बढाउने, रेडक्रसका आदर्श र मानवीय सिद्धान्तहरुको प्रचार–प्रसार तथा कार्यान्वन गर्ने आदि उद्देश्य रहेका छन् । नेपालका ७७ वटै जिल्लामा रेक्रसका जिल्ला शाखाहरु र एक हजार भन्दा बढीकै संख्यामा उपशाखाहरु र ११ लाख भन्दा बढी स्वयंसेवक आवद्ध छन् । रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आएको भए पनि यसको मूख्य लक्ष्य मानव उद्धार नै हो । मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म हो ।
नेपालमा रेडक्रसले एम्बुलेन्स सेवा, रक्तसंचार सेवा, विपद व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, लैङ्गिक तथा समावेशीकरण कार्यक्रम, सामुदयिक विकास, जनशक्ति विकास, स्वास्थ्य विकास,मानवीय मूल्य तथासंचार सेवा,लगायत आकस्मिक सेवाहरु प्रदान गर्दै आएको छ । विभिन्न समयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर र युद्धमा दैविप्रकोपबाट पीडित अरबौं मान्छेको सहयोग, उद्धार र राहतमा क्रियाशील हुँंदै आएको यस संस्थाका करोडौं कार्यकर्ताहरुले विश्वको वर्तमान चुनौतिहरुको सामना गर्दै यस संस्थामा अझ बढी जनसंख्यालाई गोलबन्द गरेर अझ प्रभावकारी रुपमा मानवीय सेवा प्रदान गर्न सक्षम बनाउन दिवसले ‘सेवा नै धर्म हो’ भन्ने भावना मानवमा जागृत गराउन हामीले प्रण गर्नु पर्दछ ।