रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय पत्रकार असुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् । उनीहरुले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयनमा चासो देखाउन सरकारलाई आग्रह गरेका छन् ।
पत्रकारहरुकै कारण मुलुकमा ठूला–ठूला परिवर्तनहरु भएको भन्दै उनीहरुले पत्रकारलाई निर्धक्क र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिइएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सीनाले पत्रकार र मानव अधिकारकर्मीकै कारण अन्यायमा परेकाहरुले न्याय पाउन सफल भएको बताए । उनले न्याय पाउन नसकेकाहरुको पक्षमा मानव अधिकारकर्मी र प्रेस जगतले सम्बन्धित निकायलाई खबरदारी गर्दै आए पनि प्रेस माथि आक्रमण हुने गरेको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिमिल्सीनाले पत्रकारहरुको मनोवल उच्च बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर रावलले समाचार लेखेकै भरमा पत्रकारहरुमाथि आक्रमण हुनु भने लोकतन्त्र माथि आक्रमण हुनु बताए । उनले भने ‘पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो ।’ लोकतन्त्रलाई बलियो बनाउन प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा उपाध्यक्ष रावलले जोड दिए । शान्ति समाजले सरकारले प्रेसमाथि लगाउने गरेको अंकुसका विरुद्ध आवाज उठाउदै आएको समेत उनले बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रेस जगत रहेको बताए । उनले प्रेस कमजोर बन्दै गए लोकतन्त्र कमजोर बन्ने धारणा व्यक्त गरे । मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको गहिरेले बताए । उनले प्रेस स्वच्छ नभई स्वतन्त्र हुनुपर्नेमा जोड दिए । कार्यवाहक सभापति गहिरेले पत्रकार संवेदनशील समेत बन्नुपर्ने बताए । उनले भने ‘सही पत्रकारिताले मान्छेलाई मर्नबाट बचाउँछ तर गलत पत्रकारिताले मान्छेलाई मर्न बाध्य बनाउँछ, त्यसैले पत्रकार संवेदनशील बन्नुपर्छ ।’ नेपाली काँग्रेसका नेता माधव नेपालले मानवअधिकार र पत्रकारिताबिच अन्याश्रित सम्बन्ध रहेको बताए । उनले मानवअधिकार आवाज र पत्रकार सबैलाई सचेत गराउनेदखि गलतकार्यमा खबरदारी गर्ने निकाय भएको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी, प्रेस युनियन पाल्पाका पूर्व सभापति प्रकाश नेपाल, पत्रकार महासंघका पूर्व कोषाध्यक्ष मिलन विश्वकर्मा, सञ्चारीका समूह पाल्पाकी अध्यक्ष विन्दु थापा, नेपाल प्रेस युनियनका सदस्य सुनिल कार्की लगायतले संविधानमा प्रेस स्वतन्त्रता सम्बन्धी नीति भए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
शान्ति समाजका केन्द्रीय सदस्य अरुण ज्ञवालीले तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणा पत्रमा सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिवद्धताको सम्मान गर्न स्मरण गराइएको छ । व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्वद्ध सबैलाई समाजले कार्यत्रपत्रमार्फत् आग्रह गरेको छ । यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औँल्याएको छ । सोही अवसरमा कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो । समाजकी अध्यक्ष रेनुका देवकोटाको अध्यक्षता, उपाध्यक्ष सन्तवीर बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।