पाल्पा, आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा चन्द्र भण्डारीको नेपालमै थप उपचार भइरहेको छ । साढे दुुई महिना भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराई नेपाल फर्किएका भण्डारीको मंगलबारदेखि नेपालमै उपचार सुरु गरिएको हो ।
काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा भण्डारीलाई भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो । अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उनको सचिवालयले जनाएको छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार भइरहेको छ । भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ । शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन् । नेता भण्डारी र आमाको सुुरुमा काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भनेपछि थप उपचारका लागि नेता भण्डारीलाई भारत लगिएको थियो । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।